हिमाली आवाज ।नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले र कोषाध्यक्षमा रिता श्रेष्ठ थापा निर्वाचित हुनुभयो । सम्पन्न अधिवेशनले कार्यसमितिको सदस्यमा सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित हुनुभयो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पर्यटनलाई जोड्न सके पर्यटकको बसाई लम्व्याउन सकिने बताउनुभयो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलमा भएको दुखद दुर्घटनाको स्मरण गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशका सबै जिल्लामा प्याराग्लाइडिङ खेल विकासको सम्भावनाको खोजी गर्दै अगाडी बढ्न प्रदेश खेलकुद परिषद तयार रहेको बताउनुभयो ।

नेफाका केन्द्रिय अध्यक्ष भुपेन्द्र चाम्लिङले नेफाले चाँडै नै बन्द रहेको सोलो उडान खोल्न सम्वन्धित मन्त्रालयहरु संग छलफल अघि बढाएको जनाउँदै राष्ट्रका लागि पदक दिलाउने खेलको विकासका लागि राज्य पक्ष यसबारे गम्भिर हुनुपर्ने बताउनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य किरण राईले सहाशिक खेलको विकास नेपालमा समय सापेक्ष अनुसार विकास हुन नसकेको उल्लेख गर्दै सफल र असफलताहरुको विचबाट समयानुकुल रुपमा प्याराग्लाइडिङ खेलको विकास आवश्यक रहने कुरामा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पर्यटनविद वासुुदेव त्रिपाठीले पोखरा अब चाँडै पर्यटन राजधानीको रुपमा घोषणा हुन गइरहेकोले पर्यटनको राजधानीका लागि प्याराग्लाइडिङ लगायत अन्य सहाशिक खेलका गन्तव्यहरुको पहिचान र विकास आवश्यक रहने कुरामा जोड दिनुभयो ।
नेफा गण्डकी तदर्थ समितिका अध्यक्ष समेत रहेका दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शर्मिला शर्माले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष रितु श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।
नेफा गण्डकी प्रदेश निर्वाचन समितिका संयोजक रहनुभएका अधिवक्ता विष्णु प्रसाद अधिकारी र सदस्य मधु पन्थीले निर्वाचन सम्पन्न गर्नुभयो ।यसै विच नेपाm गण्डकीको प्रथम बैठकले प्रथम अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै तीन सदस्सीय प्राविधिक समिति गठन गरेको छ । समितिमा विमल अधिकारी, शुसिल गुरुङ र रामराज अधिकारी रहनुभएको छ ।