हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्कीले पोखराका पत्रकारहरुका लागि विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ ।
तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहनुएको छ । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनुभयो ।
आइतबार भएको पहिलो दिनको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याउनुभयो । समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्ने र प्रतिस्पर्धाले मिडियामा कन्टेन्टको मागलाई सिर्जना गर्ने बताउनुभयो। पत्रकारमा सबै भन्दा महत्वपूर्ण कुरा लेख्न सक्ने खुबी हुनुपर्ने धारणा ढकालको छ ।‘पत्रकारले के लेख्न सक्छ त्यो महत्वपूर्ण हो’,ढकालले भन्नुभयो,‘तपाईले सिर्जना गर्ने कन्टेन्टले तपाई बिक्नु हुन्छ ।’

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विषयवस्तुको लेखन सम्बन्धि तालिम आवश्यक रहेकाले आयोजना गरिएको जानकारी दिनुभयो । ‘पत्रकारितामा आजको समय भनेको विषयवस्तुको खोजी हो’, भण्डारीले भन्नुभयो‘जसमा हामी कतिपय पत्रकार कमजोर छौं । यो तालिमले विषयवस्तुको पहिचान र छनोट गर्न सहज बनाउने छ ।’
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले विषयवस्तु लेखन सम्बन्धि तालिमको आयोजना गरेर पत्रकार महासंघ कास्कीले सह्रानिय काम गरेको उल्लेख गर्नुभयो ।
तालिम संयोजक एवं पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको तालिमको पहिलो दिन आज पोखराका क्रियाशिल पत्रकार भरत कोइराला, केशव शरण लामिछाने, बासुदेव मिश्र र दीपक परियारले आफ्नो अनुभव सुनाएका सुनाउनुभयो ।