पोखरामा दुई जनाको मृत्यु भएको घटनाका कार चालक ज्यानमुद्धामा कारागार चलान

हिमाली आवाज । कास्की जिल्ला अदालतले पोखराको लेखनाथमा गत मङ्सिर अन्तिम साता दुई विद्यार्थीको ज्यान जाने गरी भएको दुर्घटनामा सङ्लग्न कार चालकलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको छ ।

जिल्ला अदालतका न्याधीश ऋषिराम आचार्यको इजलासले आज सवारी ज्यानसम्बन्धी मुद्धामा कार चालक पोखरा—२७ का मानबहादुर बानियाँलाई थुनामा पठाउने आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

गत मङ्सिर २४ गते पृथ्वीराजमार्गस्थित लेखनाथमा बानियाँले चलाएको कारले ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घटनामा गण्डकी मेडिकल कलेजका विद्यार्थी पोखरा—२५ हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ जिरोकिमीकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । दुर्घटनामा कार चालक बानियाको लापरवाही देखिएको थियो ।

मुद्धाको आदेश आउनुअघि पीडित पक्षले दोषीलाई कानूनी कारवाहीको माग सहित अदालत परिसरमा नाराबाजी गरेका थिए ।

Comments
Loading...