राष्ट्रियसभा निर्वाचन:गण्डकीका तीन सिटमा आठ जनाको उम्मेदवारी दर्ता

हिमाली आवाज । राष्ट्रियसभा सदस्य निर्वाचन—२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा आठ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

गण्डकीमा सत्तागठबन्धनमा रहेका नेपाली काँग्रस तथा नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) महिलातर्फ नेकपा(माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपांगता÷अल्पसंख्यक क्लस्टरमा नेपाली काँग्रेसका पदमबहादुर परियार(तनहुँ)ले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा(एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली(स्याङ्जा), अपांगता÷अल्पसंख्यकमा हेमन्त शेरचन(मुस्ताङ) र महिलामा सम्झना देवकोटा(गोरखा)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि दुई पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । अन्य समूहमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठले राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकीमा अन्य,महिला र अपाङ्गता÷अल्पसंख्यक समूहबाट एक÷एक जना निर्वाचित हुनुहुनेछ ।

Comments
Loading...