हिमाली आवाज । पोखरामा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दूध बोक्ने सिङ्गल क्याप बोलेरो दुर्घटनामा पोखरा–१८ ग्यारजाती बस्ने ४९ वर्षीय जीप चालक कृष्णबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते थापाको मणिपाल शिक्षण अस्पतालमा विहान १०ः२० बजे उपचारका चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा सोही ठाउँ बस्ने ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाइते हुनुभएको छ । हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट रहेको प्रनाउ विकले बताउनुभयो । बोलेरो जीप सडकबाट २० फिट तल खसेको बताइन्छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।