मुग्लिन–पोखरा सडक विस्तार:पोखरामा कालोपत्र गर्न सुरु

हिमाली आवाज । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ ।कास्की र तनहुँको सिमाना कोत्रेदेखी पोखराको पृथ्वीचोक सेती नदीपुलसम्मको १९ किमी मध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो ।

मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्ड आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर जति सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुनेछ ।

उहाँले भन्नुभयो,“सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन,सडक सम्माउने लगायतका काम जारी छन् । तर बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ ।”

मुग्लिन पोखरा सडक योजनाकोको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकाँस ठाउँमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।

राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेन सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने इन्जिनियर पौडेलले बताउनुभयो। आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ ।

यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारहरु लगायतको निरन्तरको प्रयासले पछिल्लो समय काममा केही तीव्रता आएको हो ।

पोखरा खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका विजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाई हुँदा समेत आयोजनाको काम प्रभावित भएको थियो । निर्माण कम्पनीले काममा ढिलाई गरेपछि ठेक्का तोड्ने चेतावनीपछि कामले गति लिएको हो ।

गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडक हो पृथ्वी राजमार्ग । सरकारले यसै राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो ।

एशियाली विकास बैङ्क(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको हालको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजना मार्फत काम भइरहेको पौडेलले बताउनुभयो ।

राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको थियो । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय रहेको छ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ ।

पश्चिम खण्डको निर्माणका लागि रु सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको काम विसं २०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

Comments
Loading...