माछापुच्छ्रेको धम्पुस उत्सव फागुन ३० देखी

हिमाली आवाज । कास्कीको पर्यटकीय गाउँ धम्पुसमा यही फागुन ३० देखि धम्पुस उत्सव विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

स्थानीय मिलन युवा क्लबको आयोजनामा चैत ३ गतेसम्म चल्ने उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ मा पर्ने लेक कुनामा उक्त कार्यक्रम हुने छ भने उक्त कार्यक्रमको मुख्य आकर्षणमा कास्की जिल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष ललित पुनले बताउनुभयो ।

प्रतियोगितामा करिब २५ टिमको सहभागिता हुने उहाँले जनाउनुभयो । प्रतियोगिताको विजेतालाई नगद एक लाख, उपविजेतालाई नगद ६० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पुनले जनाउनुभयो ।

कार्यक्रममा क्लब स्तरीय महिला भलिबल प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगिताको विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजार प्रदान गरिने छ । भलिबलको पुरुषतर्फ सान्त्वना हुने दुई टिमलाई जनही १०÷१० हजार प्रदान गरिने छ ।

भलिबलको पुरुष तथा महिलातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार, अन्य ५ विधामा जनही २ हजार ५ सयका दरले पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै उत्सवमा प्रौढ भलिबल प्रतियोगिता, पुरुष रस्साकस्सी प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता हुने खेल संयोजक बुद्ध सिंहले बताउनुभयो ।
कार्यक्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले कास्कीको पर्यटनको पुरानो गन्तव्य भएकोले खेल पर्यटनको प्रवर्द्धन गर्न वडाले सो कार्यक्रमको लागि २ लाख बजेट व्यवस्था गरेको जनाउनुभयो । कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख ९४ हजार लाग्ने क्लबका अशोक थापाले बताउनुभयो ।

Comments
Loading...