हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीको इन्चार्जको जिम्मेवारी रामजी प्रसाद बराल(जीवन)ले पाउनुभएको छ ।
जनयुद्धको सवैभन्दा पेचिलो समय विसं २०५९ को अन्त्य तिर पहिलोपटक कास्की जिल्लाको इन्चार्ज र सेक्रेटरी बन्नु भएका बराल दुई दशकपछि पुनः पार्टीको महत्वपूर्ण जिम्मेवारीमा फर्किनुभएको हो । त्यस बेला उहाँले दुई वर्ष पार्टीको कमाण्ड सम्हाल्नुभएको थियो ।
पार्टीको केहीदिन अघि बसेको बैठकले नेताहरुको कार्यविभाजन गरेको र कास्कीको इन्चार्ज बराललाई तोकिएको पार्टीका गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।
बराल माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँले गण्डकी प्रदेश सरकारको पूर्वअर्थमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभयो ।
यस्तो छ बरालको राजनीतिक यात्रा

विसं २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएका बराल २०४८ मा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाइको अध्यक्ष र ४९ मा जिल्ला सदस्य बन्नु भएको थियो ।
उहाँ २०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध शुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णपछि भूमिगत राजनीति सुरु गर्नुभयो । उहाँ २०५३ साल साउन ५ गते देखि पार्टीको पूणर्कालिन कार्यकर्ता बन्न तयार हुनु भयो ।
पूणर्कालिन बन्नेबित्तिकै उहाँ तत्कालिन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य हुनु भएको थियो । बराल कास्कीमा पार्टीको फौजी र राजनीतिक उपस्थिति जनाउन धेरै योजना बनाउनु भयो ।
विसं २०५७ मा पार्टीले उहाँलाई पर्वत जिल्लाको सेक्रेटरीको जिम्मेवारी दियो, भने विसं २०५९ मा फेरि सेक्रेटरी सहित कास्की जिल्लाको इन्चार्जको जिम्मेवारी लिएर कास्कीमा फर्किनु भयो ।
तत्कालीन एकिकृत माओबादी पार्टीको पोलिटब्यूरो सदस्य समेत हुनु भयो । विसं २०७० सालको संविधान सभाको उमेदवारी रहनु भएको थियो । त्यसै गरी २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पार्टी संसदीय दलको उपनेता बन्नुभयो । नेपाली काँग्रेस संसदीय दल नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो ।