पोखरा स्पोर्ट्स अवार्ड :चार विधामा मनोनयन सार्वजनिक,तयारी तीव्र

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ ।

मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका काम अघि बढाइएको मञ्चले जनाएको छ ।

मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्ड अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ । विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो ।

यस वर्ष वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा पर्नुभएको छ ।
यसैगरी वर्ष खेलाडी महिलामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहनुभएको छ ।

यसैगरी १७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा पर्नुभएको छ ।

उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

उहाँका अनुसार स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले जनही नगद रु ३५ हजार सहित ट्रफी पाउने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ ।

मुल आयोजक समितिको सह–संयोजकमा मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ रहनुभएको छ । यसैगरी विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजक समेत चयन गरिएको छ । आर्थिक सङ्कलन उपसमितिको संयोजक कविता घर्ती मगर र सह–संयोजक शशी कुमार पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रचार प्रसार उपसमितिको संयोजकमा मञ्चका महासचिव पौडेल, सह–संयोजकमा विजय नेपाल, अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सह–संयोजकमा सुर्दशन रन्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सह–संयोजकमा फडिन्द्र अकिञ्चन हुनुहुन्छ ।

स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मान बहादुर घर्ती र सह संयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफि उपसमितिको संयोजकमा उमेश पुन र सह–संयोजकमा बसन्त शेर्पा, मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सह–संयोजकमा धन बहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सह–संयोजकमा सुशिल हुनुहुन्छ ।

यसैगरी सङ्घ संस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सह–संयोजकमा कृष्ण दवाडी, मुल्याङ्कन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सह–संयोजकमा गणेश बराल (ढाकामोहन), क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सह–संयोजकमा अर्जुन गाहा सुशान्त रहनुभएको छ ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको,प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाएका छन् ।

गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाका रुपमा विसं २०५७ मा मञ्चको स्थापना भएको हो । मञ्चमा हाल ७४ जना खेल पत्रकार आवद्ध छन् ।

Comments
Loading...