स्वास्थ्यकर्मीको परामर्शमा गर्भपतन गराउँदा हुँदैन जोखिम

–कृष्ण दवाडी
हिमाली आवाज,१८ वैशाख । पोखरा महानगरपालिकाकी ३२ वर्षीया हरिमाया (नाम परिर्वतन) को असुरक्षित गर्भपतन गराउँदा गत वर्ष ज्यान गयो । उहाँका दुई सन्तान हुर्किसकेका थिए ।अनिच्छित (इच्छा बिना) को गर्भ बसेको थाहा पाएपछि हरिमायाले हतारमा औषधी पसलमा गएर गर्भपतन गराउने औषधी खानुभयो । गर्भ कुन ठाउँमा कस्तो अवस्थामा छ भन्ने बारेमा उहाँले स्वास्थ्यकर्मीसँग परामर्श लिनुभएको थिएन ।पसलबाट औषधी ल्याएर खाएपछि रगत बग्यो । रगत बगेपछि भूर्ण गयो होला भनेर ढुक्क भएर बस्नुभयो । भूर्ण पाठेघर बाहिर बसेको थियो,जसलाई औषधीले गर्भपतन गर्न सकेन । उहाँमा दुखाई बढ्दै गयो ।

पछि क्लिनिकबाट दुखाई कम हुने औषधी खानुभयो तर औषधीबाट समेत दुखाई कम भएन । असैह्य पीडाले उहाँ बेहोस हुनुभयो । परिवारका सदस्यले नजिकको स्वास्थ्य संस्थामा लैजाँदा अलि ठूलो अस्पताल जानु भनेपछि हरिमायालाई पोखराकै एक प्रतिष्ठित अस्पतालमा लगेर भर्ना गरियो ।

आइसीयूमा राखेर उपचार गरेपनि तीन दिनपछि हरियामाको मृत्यु भयो । हरियामा एक उदाहरण मात्र हुनुहुन्छ । धेरै महिलाले लापरवाही तथा अशिक्षाका कारणले असुरक्षित गर्भपतन रोज्दा मृत्युको मुखमा पर्ने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कास्कीमा असुरक्षित गर्भपतनका कारणले महिलाको मृत्यु भएको यो पछिल्लो घटना हो ।

अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल जाने प्रवृत्तिले गर्दा महिलालाई शारीरिक पीडा सहित सहित जीवननै जोखिममा पर्ने गरेको छ । स्वास्थ्यकर्मीको परामर्श बिना गरिने गर्भपतनले ज्यान समेत जाने गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको भनाई छ ।

गर्भ कति साताको छ भन्ने कुराको आधारमा औषधी र औजारको प्रयोगबाट गर्भपतन गराउने गरिएको छ । १० हप्तासम्मको गर्भलाई औषधीद्धारा गर्भपतन गर्न सकिने भएपनि त्यसको लागि अल्ट्रासाउण्ड गर्नुपर्दछ ।

सूचीकृत स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी सेवन गरेमा सुरक्षित रुपमा गर्भपतन गराउन सकिन्छ । तर धेरै महिला विभिन्न कारणले असुरक्षित बाटोबाट गर्भपतन गराउने गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा डेला सिँह गर्भपतन गराउँदा स्वास्थ्यकर्मीको परामर्श आवश्यक हुने बताउनुहुन्छ । विना परामर्श औषधी पसलमा गएर औषधी किनेर खाँदा जोखिम बढ्ने र महिलाको ज्यान समेत जान सक्ने भएकाले सूचीकृत स्वास्थ्य संस्थमा गएर सेवा लिनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“सुरक्षित गर्भपतन कानुनले बाँधिएको विषय हो । सेवा प्रवाह गर्नेले पनि कानुनको परिधिभित्र बसेर सेवा दिनुपर्दछ । तालिम लिएको र सूचीकृत स्वास्थ्य संस्थामा जानुपर्दछ, डाक्टरको परामर्श लिएर सूचीकृत संस्थामा गएर गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा जोखिम हुँदैन ।”

गर्भपतनलाई भन्दा पनि बढी परिवारनियोजन शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने खाँचो देखिएको डाक्टर सिँहको भनाई छ ।
सुरक्षित गर्भपतन महिलाहरुको प्रजनन् अधिकार भएपनि यसबारेमा पर्याप्त जानकारी नहुँदा महिलाको अकालमा ज्यान जाने गरेको छ ।
विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएका छन् । सुरक्षित गर्भपतन सेवाको प्रयोग गर्न सेवा उपलव्ध गराउने स्वास्थ्य संस्थाका बारेमा पर्याप्त जानकारी नहुँदा समेत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका सुरक्षित मातृत्व फोकल पर्सन सम्झना ढुँगाना बताउनुहुन्छ ।

कतिपय महिलाले गर्भबसेको एकिन समय थाहा नपाउने र तोकिएको अवधिभन्दा बढी समयको गर्भपतनका लागि समेत औषधी प्रयोग गर्दा पूर्ण रुपमा गर्भ बाहिर नजाँदा समेत जोखिम हुने ढुँगानाको भनाई छ ।

यस सम्बन्धमा पहिलाभन्दा धेरै सुधार भएपनि अझै समुदायसम्म चेतना पुग्न नसकेको ढुँगानाको भनाई छ । सूचीकृत स्वास्थ्य संस्था र सरकारी संस्थाहरुमा निःशुल्क सेवाको बारेमा जानकारी नहुनु प्रमुख चूनौती रहेको उहाँ बताउनुहुन्छ । मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर मात्र गर्भपतन गराउनुपर्दछ भन्ने शिक्षालाई अझ व्यापक बनाउनुपर्ने खाँचो छ ।

ढुँगानाले भन्नुभयो,“स्वास्थ्य संस्थामा सुरक्षित रुपमा गर्भपतन हुन्छ भन्ने जानकारी नहुँदा असुरक्षित गर्भपतनका कारण महिलाको ज्यान जोखिममा पुग्ने गरेका पाइन्छ । सुरक्षित गर्भपतनसँगै पारिवारिक योजना लगायतका बारेमा पनि शिक्षा दिनु अत्यावश्यक छ ।”

स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म दुई हजार तीन सय ३४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा चार हजार महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतनका लागि स्वास्थ्य संस्थामा जानुपर्दछ र स्वास्थ्यकर्मीको परामर्श आवश्यक पर्दछ भन्ने भन्ने ज्ञान विकास हुँदै गरेपनि पर्याप्त भने हुन सकेको छैन । कास्कीमा पोखरा महानगरपालिका सहित पाँच वटा स्थानीयतहमा गरी सो संख्याले स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।

“परिवार नियोजनका साधन प्रयोग गरौँ, अनिश्चित गर्भ धारण नगरौँ । सकेसम्म गर्भपतन नगरौँ,गराउनुपरेमा सूचीकृत स्वास्थ्य संस्थामा गई सेवा लिनुपर्दछ भन्ने सन्देश फैलाउन सक्दामात्र असुरक्षित गर्भपतन कम हुन्छ ।” ढुँगानाले भन्नुभयो ।

सुरक्षित गर्भपतन मुख्य तया दुई विधिबाट गर्न सकिन्छ जसलाई औषधिको सेवनबाट गरिने गर्भपतन र औजारको प्रयोगबाट गरिने गर्भपतन रहेको छ ।सुरक्षित तवरले गरिने भएकोले यसलाई सुरक्षित गर्भपतन भनिएको हो। औषधिको सेवनबाट गर्भपतन गराउन नमिल्ने महिलाहरुलाई औजारको प्रयोग गरेर गर्भपतन गराउने गरिन्छ ।

तालिम प्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीबाट, उपर्युक्त औजार र साधनको प्रयोग गरी सफासँग ज्ञान र सीप भएको व्यक्तिबाट गरेको गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।गर्भपतनलाई समाज र परिवारले अझै सहज रुपमा नलिएकाले समेत असुरक्षित गर्भपतन हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

परिवार र समाजमा अझै महिलाले खुलेर भन्न नसक्ने तथा कतिपय स्वास्थ्य संस्थामा गोपनिताको अभावका कारण असुरक्षित तबरले गर्भपतन गराउने गरेको कास्कीको माछापुच्छ«े गाउँपालिका–२ मा रहेको सार्दीखोला स्वास्थ्य चौकीका प्रमुख अनिता घिमिरे बताउनुहुन्छ । अझ ग्रामिण क्षेत्रमा स्वास्थ्य अवस्था जटिल भएपछिमात्र स्वास्थ्य संस्थामा आउने गरेको घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो,“तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले मान्यता प्राप्त स्वास्थ्य संस्थामा कानुन अनुसार औषधी र औजारको प्रयोगबाट सुरक्षित गर्भपतनको सेवा छ । अहिले सेवा धेरैतिर विस्तार समेत भएको छ । तर धेरै महिलामा अझै पनि सो सम्बन्धी जानकारी पुग्न सकेको छैन । जब धेरै गाह्यो हुन्छ अनिमात्र अन्तिम अवस्थामा बल्ल स्वास्थ्यकर्मीको सम्पर्कमा आउने गरेको पाइन्छ । ”

घिमिरेले ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाले आफूले ह्याण्डल गर्न नसक्ने केसहरुलाई बजारमा पठाउने गरेको जानकार दिनुभयो ।
सरकारले सबै स्वास्थ्य संस्थाहरुमा गर्भपतन सेवालाई निःशुल्क समेत गरेको छ तर स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी कम हुनु तथा गोपनियताको कारण समेत असुरक्षित गर्भपतन हुने गरेको बताइन्छ ।

असुरक्षित गर्भपतन हुँदाका जोखिम र खतराहरुलाई कम गर्नका लागि सुरक्षित गर्भपतन सेवालाई सरकारले निःशुल्क बनाएको हो ।
अवैधानिक रुपमा सञ्चालित स्वास्थ्य संस्थामा निर्मलीकरण बिनानै गर्भपतनका औजारको प्रयोग हुने गर्छ । यसरी गरिने गर्भपतनमा विभिन्न प्रकारका इन्फेक्सनको जोखिम पनि बढी हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

Comments
Loading...