गण्डकी प्रदेशस्तरीय फुटबलमा कास्कीले जित्यो उपाधि

हिमाली आवाज । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।
पोखरा रगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै कास्की च्याम्पियन बनेको हो । उपाधि विजेता कास्कीले नगद रु दुई लाख र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता तनहुँले रु एक लाख नगद पुरस्कार पायो ।

खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीका तर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो ।
तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिंदा सजिन थापाको प्रहारलाई कास्कीका गोलकिपर आकाश रानाभाटले बचाउ गरे ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी तनहुँका शान्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार पुरस्कार पाए । कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित हुँदै जनही नगद रु पाँच हजारका दरले पुरस्कार पाए ।

प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, सङ्घका बरिष्ठ उपाध्यक्ष मिलन गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकी र गण्डकी प्रदेश फुटबल सङ्घको संयुक्त आयोजनामा यही जेठ २५ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्ला मध्येमा मुस्ताङ बाहेक १० जिल्लाले प्रतिस्पर्धा गरेका थिए ।

Comments
Loading...