पोखरामा सञ्चालित सार्वजनिक बसको प्रदुषण जाँच सुरु

हिमाली आवाज । पोखराबजार क्षेत्रमा सञ्चालन हुने सार्वजनिक बसले अत्यधिक धुँवा फालेर वातावरण प्रदुषित गराएपछि बसहरुको प्रदुषण परीक्षण सुरु गरिएको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीले शनिबार सार्वजनिक बिदाका दिनमा समेत पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालन भइरहेका बसहरुको जाँचपास गरेको हो ।

मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदुषण जाँच पास सुरु गरिएको यातायात व्यवस्था कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख अशोक गौतमले बताउनुभयो ।

उहाँका अनुसार अन्य दिनमा प्रदुषण जाँचका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो ।
पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ वटै बसको प्रदुषण जाँच गरिने कार्यालयले जनाएको छ । प्रदुषण जाँच पास हुन नसकेका सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र जाँच पास भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताउनुभयो ।

“पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीको धुँवा धूलो बढी हुने गरेको जनताको व्यापक गुनासो आएपछि कडाईका साथ जाँचपास गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरुलाई बोलाएर यान्त्रिक परीक्षण र प्रदुषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा प्याब्सन र एनप्याब्सनका बसहरुको समेत परीक्षण गछौँ ।” कार्यालय प्रमुख गौतमले भन्नुभयो ।

जाँचपास गर्दा बढी प्रदुषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताउनुभयो ।गाडीहरुको सर्भिसिङपछि बसको फेल हुने दर कम भएको उहाँले बताउनुभयो । कार्यालयले प्रदुषण बढी भएका तथा जाँचपास फेल भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।

इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको डेन्सिटी हेर्ने र ३० प्रतिशत सम्म आउने पास र त्यो भन्दा बढी आउने फेल हने बताउनुभयो ।“परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदुषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुन्छ ।” उहाँले भन्नुभयो ।

पोखरा यातायात प्राििलका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले रु दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको बताउनुभयो ।

गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुँवा बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न गुरुङले माग गर्नुभयो ।

“गुनासो आएपछि व्यवसायीले ठूलो धनराशी खर्च गरेर मर्मत गरेको हो । मर्मत सम्भार गर्दा समेत धुँवा फालिरहेको छ । के कारणले फालिरहेको हो भनेर हामीलाई इन्जिनियररले बताइदिनुपर्दछ ।” अध्यक्ष गुरुङले भन्नुभयो ।

Comments
Loading...