माछापुच्छ्रेको भुर्जुङखोलामा धार्मिक महोत्सव सुरु,पहिलो दिनमानै ११ लाख बढी संकलन

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आजदेखी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु भएको छ ।

शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको हो ।

महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले भुर्जुङखोलाको पर्यटन, कृषि, स्वास्थ्य लगायतका सबै क्षेत्रको विकासका लागि पालिकाको तर्फबाट ध्यान जाने बताउनुभयो । उहाँले भन्नुभयो,“जुन उद्धेश्य राखेर महायज्ञ गर्दै हुनुहुन्छ, त्यसको सफलताको कामना गर्न चाहन्छु । पालिका सँधै तपाईको साथमा छ । ”

सो अवसरमा अध्यक्ष गुरुङले महायज्ञमा पालिकाको तर्फबाट रु नौ लाख सहयोगको प्रतिवद्धता जनाउँदै जनप्रतिधिहरुबाट छुट्टै सहयोग रहने उल्लेख गर्नुभयो ।

गाउँपालिका  उपाध्यक्ष सीता अधिकारीले सार्दिखोला हरेक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो।“शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा सार्दिखोला अब्बल छ । यहाँको थप विकासमा हामी सहयोग गछौँ । ” उपाध्यक्ष अधिकारीले भन्नुभयो ।

माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता गणेश आचार्यले महायज्ञको पहिलो दिन सबैको साथ र सहयोगबाट भव्य बनेको बताउनुभयो ।

घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र तथा बुद्ध तथा क्होइवो तमुधिँ स्थापनाका लागि आर्थिक स्रोत जुटाउने उद्धेश्य महायज्ञको रहेको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

“सार्दिखोला तथा छिमेकी वडाहरुबाट समेत विभिन्न जाति तथा समुदायको आफ्नै मौलिक परम्परा र संस्कृति झाँकी, भजन सहितको कलश यात्राले महायज्ञको उद्घाटमा छुटटै उत्साह थप्न सफल भयो । आगामी दिनहरुमा समेत यस्तै उत्साह र भव्य रुपमा महायज्ञ सम्पन्न हुने लक्ष्य राखेका छौँ ।” वडाध्यक्ष आचार्यले भन्नुभयो ।

धार्मिक महोत्सव अघि विहाने कलश यात्रा गरिएको थियो । सो कलश यात्रा गैरा खेलमा मैदान बाट सुरु भएर कलश यात्रा कसेरी, सार्दिखोला स्वास्थ्य चौकी, घडेरी भुर्जुङखोला बसपार्क, पुरानो चोक (खादर्जुङ जाने बाटो )हुँदै शिल्दु देउराली बोर्डिङ स्कुल, माछापुच्छ्रे मावि हुँदै माझटोल , देउराली, बाँझोखेत र बाझोखेत पश्चात मोटर बाटो हुँदै कोलचोकबाट महायज्ञ स्थानमा आइ समापन भएको थियो ।

उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल, वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतम, शिवालय मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष सर्वजित गुरुङ, शिवालय मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गिरिधारी आचार्य, स्थानीय बेगनाथ पौडेल लगायतले यज्ञ सफलताको कामना गर्नुभएको थियो ।

शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्सवको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्े गाउँपालिका वडा नं २ वडा कार्यालय रहेको छ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव यही भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।

Comments
Loading...