हिमाली आवाज । पोखरा महानगरपालिका–१८ सेदीमा प्रहरी विट स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र लेकसाइडसँगैको सेदी र खपौँदीमा पर्यटकीय गतिविधि वृद्धि भएसँै शान्ति सुरक्षालाई ध्यानमा दिएर प्रहरी विट राखिएको हो ।
सेदीमा व्यवसायी युवराज खतिवडाले आफूले भाडामा लिएको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणको जमिन प्रहरी विट राख्नका लागि उपलव्ध गराउनुभएको थियो । यसका साथै उहाँले विट निर्माण, प्रहरी कर्मचारीहरुका लागि कोठा तथा भान्छाका सामग्री समेत सहयोग गर्नुभएको हो ।
नवनिर्मित प्रहरी विटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गर्नुभयो ।

करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका छन् । त्यसबाहेक गैह्राको चौतारादेखि रातोमाटेसम्म १२ वटा गुणस्तरीय सिसी क्यामरापनि जडान गरिएका छन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी भोलाबहादुर रावलले शान्ति सुरक्षा कायम गर्ने पहल अन्तर्गत प्रहरी विट निर्माण भएको भन्दै यसमा आवश्यक जनशक्ति व्यवस्थापन चाँडै गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले सेदीमा शान्ति सुरक्षा कायम गर्न प्रहरी विट बनेपछि सजिलो हुने बताउनुभयो ।
वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले स्थानीयको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले प्रहरी विट नहुँदा असुरक्षित महशुष गर्ने गरेपनि अबदेखि त्यसको चिन्ता नहुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरुले प्रहरी विट स्थापनाले आफूहरुलाई सुरक्षित महसुस गराएको बताउनुभयो ।