हिमाली आवाज । सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताउनुभएको छ ।
पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने बताउनुभएको हो ।सञ्चारमन्त्री गुरुङले के भन्दा जनता खुशी हुन्छन् भनेर होइन जनता के काम गर्दा खुशी हुन्छन् भनेर सोच्नुपर्ने बताउनुभयो ।
“स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, शिक्षा क्षेत्र त्यस्तै छ । अस्तव्यस्तता भित्र सुधार कसरी गर्न सकिन्छ भनेर अध्यादेश ल्याएको हो ।” उहाँले सुशासन विना देशको विकास नहुने भएकाले सुशासन प्रवद्र्धनका लागि समेत अध्यादेशले सहयोग पुग्ने बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो,“नेपालको ऐन कानुनमा एकैपटक धेरै सुधार गर्नुपर्ने देखिएकाले संवैधानिक प्रावधान अनुसारनै अध्यादेश ल्याइएको हो । हामीलाई के अनुभव छ भने संसदबाट एउटा विधेयक पास गर्न ५ वर्ष लाग्यो । सुशासन कायम र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन १२ कानुन संशोधन गर्न आवश्यक छ । संशोधन नगरिकन सुशासन हुँदैन, सार्वजनिक सेवा प्रवाह प्रभावकारी तत्कालै गर्नुपर्दछ । अध्यादेश पास हुन्छ,पास गराउनुपर्दछ ।”

संसद चलिरहेका बेलामा अध्यादेश ल्याउन नपाइने भएकालेनै सरकारले संसद सुरु हुनु भन्दा अघि ल्याएकाले संसद छलेर अध्यादेश ल्याइएको भनेर चर्चा गर्नु आवश्यक नरहेको उहाँले बताउनुभयो । सञ्चारमन्त्री गुरुङले नीजि क्षेत्रबाट सञ्चालन भएर देशकै नमूना आँखा अस्पतालका रुपमा रहेको हिमालय आँखा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
“पोलिसीमा परिर्वतन गर्नुपर्ने छ भनेपनि गरौँला, हिमालय आँखा अस्पतालप्रति मेरो माया र ममता छ । स्वास्थ्य क्षेत्रमा गरेको योगदान र राम्रो अस्पताल सञ्चालन गरेकामा बधाई छ । मेरो तर्फबाट भौतिक पूर्वाधार लगायत आवश्यक पर्ने सहयोग रहने छ ।” उहाँले भन्नुभयो ।
राष्ट्र, जनता, व्यवस्था, शान्ति सुव्यवस्था र राष्ट्रिय एकता कमजोर बनाउने गतिविधि रोक्नका लागि सामाजिक सञ्चालन नियमन विधेयक ल्याइएको मन्त्री गुरुङले बताउनुभयो । उहाँले सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई हनन गर्न नखोजेको भन्दै विधेयकामा उल्लेख गरिएको दण्ड सजायका बारेमा छलफल तथा परिमार्जन हुन सक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अस्पतालका पूर्वअध्यक्ष डा दिलबहादुर क्षेत्री, गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल नेत्रज्योती संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगर, अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले अस्पतालको स्थायित्वका लागि गण्डकी प्रदेश सरकारले स्वामित्व लिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सापु रोग सम्बन्धी सचेतना भिडियो प्रतियोगितामा विजयी विद्यार्थी तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।