हिमाली आवाज । कास्कीका निर्माण व्यवसायीले पोखरा महानगरबाट सञ्चालित विभिन्न विकास निर्माणका कामको भुक्तानी पाउन सकेका छैनन् । व्यवसायीहरुले निर्माणका कार्यहरु तोकिएको समय सिमाभित्र सम्पन्न गरिसक्दापनी भुक्तानी नपाएको गुनासो गरेका छन् ।
व्यवसायीले आज कामको भुक्तानीका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य समक्ष ज्ञापन पत्र बुझाएका छन् ।नेपाल निर्माण व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष प्रेम पहारीको नेतृत्वमा गएको निर्माण व्यवसायीहरुको टोलीले महानगर प्रमुख धनराज आचार्यलाई भेटी व्यवसायीको बाँकी बक्यौता रकम अविलम्व भुक्तानीका व्यवस्था गर्न आग्रह गरेको हो ।

“यस संघमा आवद्ध निर्माण व्यवसायी सदस्यबाट ताहाँको कार्यालय अन्र्तगतका विभिन्न बिकास निर्माणका काम सम्पन्न भैसकेको र बिल समेत पेश गरिसक्दा समेत भुक्तानी नपाएको गुनासो सहित यस संघमा निवेदन पर्न आएको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । देश बिकासको लागि निर्माण व्यवसायीहरुको प्रमुख एवं महत्वपूर्ण भूमिका रहने कुरा सर्वविदतै छ । व्यवसायीहरुले निर्माणका कार्यहरु तोकिएको समय सिमाभित्र सम्पन्न गरिसक्दापनी भुक्तानी नपाउँदा निर्माण व्यवसाय गर्दै आउनुभएका व्यवसायीहरुको व्यक्तिगत जिवनमा नै असर परिरहेको यथार्थतालाई मध्यनजर गर्दै, सम्पन्न भैसकेको निर्माण कार्यहरुको भुक्तानी अविलम्व गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।” संघले महानगरमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
संघका सचिव डम्बरराज ढकालले महानगर प्रमुख आचार्यले व्यवसायीले कामको भुक्तानी नपाएको विषय अध्ययन गरेर अविलम्व पैसा दिने प्रतिवद्धता जनाएको बताउनुभयो ।
“हामीले महागरमा भुक्तानीका लागि ज्ञापनपत्र बुझाएका छौँ । महानगर प्रमुखले कति भुक्तानी गर्न बाँकी छ सो को विवरण पठाउनुहोला भन्नुभएको छ । व्यवसायीको माग सम्बोधन गर्ने प्रतिवद्धता गर्नुभएको छ ।”
संघका सचिव ढकालले भन्नुभयो । महानगरबाट व्यवसायीले ११ योजनाको भुक्तानी पाउन बाँकी रहेको बताइन्छ ।