पोखराको कालिका बहुमुखी क्याम्पसमा मन्टेश्वरी तालिमको शुभारम्भ

हिमाली आवाज । पोखरा महानगरपालिका– १४ मा अवस्थित कालिका बहुमुखी क्याम्पसले आजदेखी मन्टेश्वरी तालिमको सुरुआत गरेको छ ।
क्याम्पसको शिक्षा विभागद्धारा शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि आधारभूत मन्टेस्वरी तालिमको सञ्चालन गरेको हो ।

तालिमको उद्घाटन गर्दै क्याम्पसका सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले शिक्षा विभागद्धारा कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा आफ्नो सिकाई प्रति थप टेवा पुग्ने तथा सिकाई प्रति अझ जिम्वेवार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज गुरुङले अहिलेको आधुनिक प्रविधिको समयमा यस किसिमको तालिम अत्यन्त आवश्यक भएकोले शिक्षा विभाग प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना दिनुभयो ।

कार्यक्रमको सभापतित्व गर्नुभएका शिक्षा विभाग प्रमुख तथा उक्त कार्यक्रमका संयोजक लोकनाथ सुबेदीले स्वागत व्यक्त गर्दै कार्यक्रमको महत्व, औचित्य तथा उद्देश्यको बारेमा बताउनुभयो । साथै यस प्रकारको तालिम सामुदायिक क्याम्पसमा नविन कार्य भएको र यस्ता कार्यक्रमहरु अत्यन्त फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मेरील्याण्ड मन्टेस्वरीका संस्थापक सीता सुबेदीले तीनहप्ता सम्म निरन्तर चलिरहने उक्त तालिमको बारेमा प्रकाश पार्नुभएको थियो ।

तालिममा शिक्षाशास्त्र संकायमा अध्ययनरत उनन्तीस जना प्रशिक्षार्थीहरु सहभागी रहनेछन् । शिक्षा बिभागका बरिष्ठ उप–प्रध्यापक राजेश्वर शर्माद्धारा सञ्चालन गरिएको उक्त समुद्घाटन कार्यक्रमा क्याम्पसका प्रशासकीय प्रमुख हुकुमराज थापा तथा शिक्षा बिभागका उप–प्रध्यापक भावना तिवारीको समेत उपस्थिति रहेको थियो ।

कालिका क्याम्पस विश्वविद्यालय अनुदान आयोगको इतिहासमै सबैभन्दा छोटो समयमा शैक्षिक गुणस्तर चिन्ह प्रत्यायान गर्न सफल रहेको छ ।

Comments
Loading...