हिमाली आवाज । पोखराको बाग्लुङबसपार्कमा रहेको सगरमाथा निकेतन स्कुलले थप शैक्षिक गुणस्तर वृद्धिका लागि उत्प्रेरणा तालिम संचालन गरेको छ । विद्यालयका शिक्षकहरुका लागि तीन दिनको मोटिभेसनल(उत्प्रेरणा) तालिम सञ्चालन गरिएको हो ।
नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालयले तालिम दिएको हो । विद्यालयले काठमाडौँमा रहेको टपस कन्सल्टिङ एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालिसँगको सहकार्यमा सो तालिम आयोजना गरेको हो ।
यही वैशाख ३ देखी ५ गतेसम्म सञ्चालित तालिममा प्राथमिक तहका लागि दुई दिन र माध्यमिक तहका लागि एक दिन सो तालिम दिइएको हो ।
दुई दिन प्राथमिक तह र तेस्रो दिन माध्यमिक तहसम्मका शिक्षकहरुका लागि उत्प्रेरणामुलक तालिम सञ्चालन गरिएको हो ।

विद्यालयका प्राचार्य दिलिप शर्मा भट्टराईले तालिमले शिक्षकहरूमा रहेको शक्तिलाई झन उर्जामा रूपान्तरण गरी उनीहरूलाई अझ प्रभावकारी, सिर्जनशील र प्रेरणादायी बनाउने विश्वास व्यक्त गर्नुभयो । नयाँ शैक्षिक सत्रको मुखमा आयोजित कार्यक्रमले आगामी शैक्षिक सत्रको अध्यन÷अध्यापन अझ बढी उत्कृष्ट हुने उहाँले बताउनुभयो ।
प्राचार्य शर्माले भन्नुभयो,“शिक्षकहरूलाई उत्प्रेरित गर्दै उनीहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गराएका छौँ । यस तालिमले शिक्षकहरुलाई आफनो लक्ष्य पहिचान गरी सोही अनुरूपको योजना बनाउन मद्धत पुगेको छ ।”
विद्यालयकी शिक्षिका अर्मिला श्रेष्ठले तालिमले आफूहरूमा सकारात्मक सोच, आत्मविश्वासका साथै सिर्जनात्मक शिक्षण विधि विकास भएको बताउनुभयो ।