पोखरामा आगामी शनिबार एशिया कप तथा दक्षिण एशियाली ट्रायथोलन च्याम्पियनसिप हुँदै

हिमाली आवाज । पोखरामा यही वैशाख १३ गते पाँचौ संस्करणको एशिया कप तथा ११ औँ संस्करणको दक्षिण एशियाली ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ ।

नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइडमा च्याम्पियनसिप हुन लागेको हो ।

सो प्रतियोगितामा नेपाल सहित विभिन्न ११ देशका १६ महिला र ३१ पुरुष गरी ४७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रायथोलनको ‘स्प्रिन्ट’ विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडीबाट प्रतियोगिता सुरु हुनेछ । त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किमी दौडका आधारमा विजेता टुङ्गो लाग्नेछ ।

दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड –राष्ट्रबैंकचोक हुदैं— गौरीघाटमा आएर समापन हुने गरी रुट तय गरिएको छ । प्रतियोगिता अवधिभरका लागि दौड हुने क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको आयोजकले जनाएको छ । यी रुटमा प्रतियोगिता अवधिभर यातायात निषेध गरिएको छ ।

प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“ ट्रायथोलन पर्यटकलाई आकर्षित गर्ने साहसिक खेल हो । यस खेल मार्फत खेलाडी मात्र नभएर उनीहरुका परिवारहरुको समेत यहाँ आगमन हुने भएकाले नेपालको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा सहयोग पुग्दछ । ”

प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी व्यवसायीले अपनत्व लिएकाले प्रतियोगिताले पोखराको प्रर्वद्धनका लागि च्याम्पियनसिले ठूलो भूमिका खेलेको बताइन्छ ।

ट्रायथोलनको विजेताले छ सय ३० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौंथो र पाँचौले क्रमशः पाँच सय २५, चार सय २०, तीन सय १५ र दुई सय १० डलर पुरस्कार पाउने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस प्रतियोगिता विश्व ट्रायथोलन सङ्घको आधिकारित भएकाले किर्गिस्तानका लेना एफ पोलचेन्कोभा ‘टेक्निकल डेलिगेट्स’को रुपमा आउनुभएको छ ।

Comments
Loading...