नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३१ औैँ वार्षिक साधारणसभा

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३१ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सो सभाको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले सार्वजनिक खरिद नियमावलीको १४ औं संशोधन व्यवसायीको हीतमा रहेको सुनाउँदै त्यो छिट्टै राजपत्रमा प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका सल्लाहकार शुकुन्तलाल हिराचनले देशभरका निर्माण व्यवसायी एकजुट हुनुपर्ने भन्दै आगामी बजेटमार्फत व्यवसायीका समस्या समाधानमा पहल गर्न माग गर्नुभयो । महासंघका अर्का सल्लाहकार निकोलस पाण्डेले पुँजीगत खर्च बढ्दा देश समुन्नतिको मार्गतर्फ अगाडि बढ्ने स्पष्ट पार्दै खरिद नियमावलीमा १५ प्रतिशतभन्दा बढी घटीघटाउ गर्न नपाइने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

संघका अध्यक्ष लिलकाजी गुरुङले सरोकारवाला सबैको साथ सहयोगका कारण संस्था गतिशील रहेको चर्चा गर्दै व्यवसायीको हितमा लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

साधारणसभामा एसोसियट उपाध्यक्ष रामजी पन्त (मुकेश), महासंघका उपाध्यक्षहरु खिमप्रकाश मल्ल, बालकृष्ण थापा, कास्की काँग्रेस सचिव भानु ढकाल, प्रमुख सल्लाहकार शिवशंकर गौचन, केन्द्रीय महासचिव रोसन दाहाल, गण्डकी प्रदेश अध्यक्ष टंकराज बराल, बागमती अध्यक्ष छत्र तामाङ, केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, पूर्व अध्यक्ष चिरञ्जीवी पोख्रेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, नवलपुरका निवर्तमान अध्यक्ष गोमाया खड्गलुक लगायतले सिमेन्ट लगायतका निर्माण सामग्रीमा भइरहेको मुल्यवृद्धि फिर्ता हुनुपर्ने लगायतका माग गर्नुभएको थियो ।

कार्यक्रमबीच एसइईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीमध्येबाट नीरव पहारी तथा अग्रज व्यवसायीका रुपमा शरद्राज सुवेदी, हरिप्रसाद बराल र शुकुन्तलाल हिराचनलाई सम्मान गरिएको संघका सचिव डम्बरराज ढकालले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
साधारणसभाले सचिव डम्बरराज ढकाल तथा कोषाध्यक्ष हिरामणि पोख्रेलद्वारा प्रस्तुत विषयगत प्रतिवेदन छलफलसहित अनुमोदन गरेको छ । साधारणसभाकै अवसरमा अवसरमा नयाँ वर्षको टेवल क्यालेण्डर पनि विमोचन गरिएको थियो ।

Comments
Loading...