हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानविन हुनुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले हालै संसदीय छानविन उपसमितिले दिएको प्रतिवेदनका आधारमा अव न्यायिक छानविन गर्नुपर्ने बताउनुभएको हो ।
महासचिव गुरुङले भन्नुभयो,“पोखरा विमानस्थलका बारेमा अहिले संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ । यसका आधारमा कानुनविद्, इन्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्ता सहितको न्यायिक प्रकृतिको छानविन राज्यका अंगहरुले गर्नुपर्दछ र दोशीहरु कारवाहीको भागिदार बन्नुपर्दछ । यसको न्यायिक छानविनबाट निरुपण गर्नुपर्दछ ।”

महासचिव गुरुङले नेपाली काँग्रेस र नेकपा(एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले देशमा सुशासनको कायम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारका राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताउनुभयो ।
“हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौं । सरकारलाई गुण र दोशको आधारमा समर्थन वा विरोध गर्ने प्रतिपक्षी हौं । सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौं । तर दुई ठूला दलको बलियो सरकार हुँदा समेत सरकारले काम गर्न सकेको छैन ।” महासचिव गुरुङले भन्नुभयो ।
माओवादी केन्द्रले हालै सञ्चालन गरेको हुलाकी राजमार्ग अभियानका क्रममा पार्टीप्रति जनताको उभार देखिएको उहाँले बताउनुभयो ।
अभियानका क्रममा जनताको समस्या बुझ्ने र सुन्ने तथा जनता तथा शहीद परिवारसँग अन्तरक्रिया गर्ने काम गरिएकाले माओवादीप्रति जनताको विश्वास र अपेक्षा बढी रहेको पाइएको उहाँले बताउनुभयो ।
महासचिव गुरुङले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न र राष्ट्रिय एकता र स्वाधिनताका लागि शान्ति सम्झौताका सहयात्री दलहरु एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।