हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई प्रदान गरिने भएको छ ।
आफ्नो जीवनको अधिकाँस समय नेपाली खेलकुदको विकास र उन्नयनमा लागि पर्ने व्यक्तिलाई सो अवार्डबाट सम्मान गर्ने गरिएको छ । यस वर्षको अवार्ड केसीलाई प्रदान गर्नका लागि प्रतिभा छनोट समितिले सिफारिस गरेको थियो । खत्रीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सो सम्मान अर्पण गरिने मञ्चका अध्यक्ष एमवि आस्था मगरले जानकारी दिनुभयो ।बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्नुभएको छ ।
नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्धितीय र १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा ‘बेस्ट प्लेयर’को उपाधि प्राप्त गर्नुभएको थियो ।
यसैगरी अन्तर्राष्ट्रिय तर्फ सिड्नीमा भएको २७ औँ ओलम्पिक खेलकुदमा सहभागी भएर राष्ट्रिय कीर्तिमानी समेत कायम गर्नुभएको छ ।

विभिन्न सात वटा संस्करणका एशियन गेममा सहभागिता लगाएत साफ च्याम्पियन र अन्तर्राराष्ट्रिय शुटिङ प्रतियोगितामा सहभागि हुनुभएको छ । खत्रीले विसं २०५१ देखी गण्डकी प्रदेशमा शुटिङ प्रशिक्षकको रुपमा खेलाडीलाई निशुल्क प्रशिक्षण समेत गराउँदै आउनुभएको छ ।
यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवाडर्’बाट सम्मान गरिसकेको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गर्ने गरिएको छ । नवौँ संस्करणको अवार्ड यही वैशाख २६ गते पोखरामा हुँदैछ ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।