हिमाली आवाज । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही वैशाख १८ देखी पोखरा रंगगशालाको बहुउद्धेश्शीय कभर्ड हलमा शनिबार समूह चरणका खेलहरु सकिएसँगै अन्तिम चारको टुँगो लागेको हो । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ र त्रिभुवन आर्मी तथा इरानको टोलीले अन्तिम चारमा स्थान बनाउन सफल भए ।

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको शनिबारको दोस्रो खेलमा पराजित भएपनि पुलिस सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेका छन् ।
समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।
यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । आजनै सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतिष्पर्धात्मक खेलमा जीतसँगै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौथो र पाँचौं सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो ।
एपिएफले चौथो सेटमा २५–१४ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता बनाएको एपीएफले १५–११ ले जित दर्ता गरेको हो ।
इरानी टोली समूह विजेता र एपिएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको घरेलु टोली गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह ‘बी’को उपविजेता टीम त्रिभुवन आर्मीबीच हुनेछ । यसैगरी दोस्रो सेमिफाइनल खेल समूह ‘बी’ विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ उपविजेता टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुने आयोजकले जनाएको छ।