मादीको पिनिस्यो खोला माथि कल्भर्ट पुल निर्माण,गाउँपालिका अध्यक्षद्धारा उद्घाटन

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–७ स्थित काउरेडाँडा–छाचोक–ज्याम्दु–ताङतिङ सडक खण्ड अन्तर्गत पिनिस्यो खोलामाथि सिमेन्ट कल्भर्ट पुल निर्माण गरिएको छ ।

मादी गाउँपालिका र मादी पावर प्रालिको संयुक्त लगानीमा निर्माण गरिएको सो पुलको आज गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

सअघि यस क्षेत्रमा वर्षायाममा आवतजावतमा निकै कठिनाइ हुने गरेकामा कल्भर्ट पुल बनेपछि स्थानीयवासी समेत खुशी भएका छन् ।
पुल निर्माण सम्पन्न भएपछि मादीका कर्पुडाडा, ताङतिङ, सेती खोला, याङ्जाकोट, तप्राङ–सोदा र सिक्लेस लगायतका गाउँहरु तथा पर्यटकीय स्थलहरूमा सहज पहुँच पुग्ने मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“कल्भर्ट पुलले स्थानीयको दैनिकीलाई धेरै सहज बनाउने छ । यसले कृषि वस्तुहरूको ढुवानीका साथै बजारसम्म आवतजावत सजिलो हुनेछ । ”

गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले स्थानीय विकासमा निरन्तर सहकार्य गरेकोमा मादी मादी पावर प्रति आभार व्यक्त गर्नुभयो । उहाँले कम्पनीले नियमित रूपमा विद्युत उत्पादन बापत रोयल्टी तिर्दै आएको र यस पालिकामा प्राप्त हुने रकमले विकास निर्माण काम गर्न सहयोग पुगेको बताउनुभयो ।

मादी पावर प्रालिका महाप्रबन्धक साङ मिङ होङले यो पुल अर्थपूर्ण विकासको प्रतीकको रूपमा खडा भएको बताउनुभयो । “यस पूर्वाधार मार्फत स्थानीयवासीहरुको लागि आवतजावतमा सहज हुनेछ । यहाँको विकासमा यसले थप योगदान गरेको छ ।” उहाँले भन्नुभयो ।

मादीको काउरेडाँडा–छाचोक–ज्याम्दु–ताङतिङ सडक कालोपत्रेको काम समेत भइरहेको छ । सो सडक स्तरोन्नतिका लागि प्रदेशसभा सदस्य बेदबहादुर गुरुङको पहलमा गण्डकी प्रदेश सरकाबारट रु पाँच करोड विनियोजन भएकामा अहिले सोही बजेटबाट काम भइरहेको हो ।

Comments
Loading...