हिमाली आवाज । पोखरामा सञ्चालन भएको प्रथम संस्करणको ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटमा हराउँदै इरानी टोली च्याम्पियन बनेको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि सहित रु चार लाख ४४ हजार ४४४ तथा ट्रफी पुरस्कार पायो । यसैगरी उपविजेता बनेको पुलिसले रु दुई लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।

यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो ।
तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । प्रतियोगितामा तेस्रो भएको आर्मीले रु एक लाख ४४ हजार ४४४ पुरस्कार पायो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालले राष्ट्रिय खेल भलिबलको विकास गर्दै युवा खेलाडी उत्पादन गर्ने लक्ष्य सहित यही वैशाख १८ गतेदेखी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा दुई विदेशी सहित छ टोलीले सहभागिता जनाएका थिए ।