घाचोक–पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनको तयारी

हिमाली आवाज । घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशन यही वैशाख २७ गते शनिबार हुने भएको छ ।
समाजको बैठकले अधिवेशनको मिति तय गर्दै तयारीलाई अघि बढाएको हो । अधिवेशन २७ गते पोखरा–२५ हेजमास्थित माछापुच्छ्रे पार्टी प्यालेसमा हुनेछ ।सो अधिवेशनले समाजको नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए ।

समाजको प्रथम अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीका कामलाई अघि बढाइएको समाजका अध्यक्ष तोयनाथ लम्साल(बैरागी)ले जानकारी दिनुभयो । अधिवेशनका तयारीका लागि आइतबार बसेको कार्यसमिति बैठकले सबैले आआफ्नो ठाउँबाट तयारीका काम गर्दै सहयोग गर्ने निर्णय गरेको थियो । बैठकमा समाजका पदाधिकारी, कार्यसमिति सदस्यहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

“घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि सहयोग गर्ने उद्धेश्यले समाज गठन गरिएको हो । अहिलेको तदर्थ समितिले संस्था दर्ता गरेर अहिले अधिवेशनको तयारीमा जुटेको छ । हामी अधिवेशनलाई भव्य बनाउने छौँ ।” अध्यक्ष लम्सालले भन्नुभयो ।

समाजका सल्लाहकार मीनप्रसाद लम्सालले स्थापनाको छोटो समयमै समाजले राम्रा कामहरु गरेको बताउँदै आगामी नेतृत्वले अझ व्यवस्थित रुपमा संस्थालाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

समाजका उपाध्यक्ष महेश्वर पोखरेलले समाजले सम्पूर्ण घाचोक तथा माछापुच्छ्रेवासीका बीच एकआपसमा आपसी सद्भाव र सम्बन्ध प्रगाढ बनाउँदै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।

अधिवेशनको तयारी स्वरुप प्रचारप्रसार,भेटघाट लगायतका कामहरुलाई अघि बढाइएको समाजका सचिव जगतबहादुर गुरुङले जानकारी दिनुभयो । समाजले भित्ते पात्रो प्रकाशन, पारिवारिक बनभोज तथा अप्ठ्यारो अवस्थामा परेकाहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको सचिव गुरुङले बताउनुभयो ।

यसअघि गत कात्तिक ११ गते पोखरामा भएको साविक घाचोक तथा माछापुच्छ्रेवासीको भेलाले समाजको तदर्थ समिति सर्वसम्मत चयन गरेको थियो ।

सो भेलाले तोयनाथ लम्साल(वैरागी)को अध्यक्षतामा १५ सदस्सीय तदर्थ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा महेश्वर पोखरेल, उपाध्यक्ष महिला चन्द्रा ज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव विष्णु पोखरेल, कोषाध्यक्ष सीता लम्साल आचार्य(सरिता) र सहकोषाध्यक्षमा नारायण गुरुङ चयन हुनुभएको थियो ।

यसैगरी सदस्यहरुमा भानुभक्त पोखरेल, मेनका आचार्य, चुणामोहन लम्साल, सोमनाथ लम्साल, लेखबहादुर खत्री, कृष्ण दवाडी र भोजबहादुर नेपाली रहनुभएको थियो । सल्लाहकारहरुमा हरिश्चन्द्र लम्साल, मीनप्रसाद लम्साल, मिनराज लम्साल, गोविन्द प्रसाद पोखरेल, सु. तोरणबहादुर गुरुङ, शिवराम लम्साल, शिवराम लम्साल, गंगालाल पोखरेल र विष्णु केसी हुनुहुन्छ ।

यसैगरी सोही भेलाले पाँच सदस्सीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा विष्णुप्रसाद पोखरेल, शिवप्रसाद पोखरेल, दुर्गा घोरासैनी,सुवासचन्द्र लम्साल र राकेश गुरुङ रहनुभएको थियो ।

Comments
Loading...