हिमाली आवाज । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो । “गण्डकी प्रदेश सरकार युवालाई सीप सिकाएर स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा छ । सीप विकास तालिम केन्द्र र व्यवसायिक तालिम प्रतिष्ठान (जिटीईभीटी) मार्फत सीपमूलक तालिम दिइरहेका छौँ।” थापाले भन्नुभयो ।
मन्त्री थापाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गण्डकी सरकार कानुन निर्माण चरणमा रहेको उल्लेख गर्दै व्यवसायिक क्षेत्रमा जनशक्तिको अभाव भएको बताउँदै आफू पनि व्यवसायिक फिल्डबाट आएको मान्छे भएकाले यो समस्या अनुभूति गरेको बताउनुभयो ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सिक्ने अवसर मिल्नु नै मुख्य कुरा भएको बताउँदै प्रदेशले गरेका राम्रा कामहरू जनताको बीचमा नलाँदा त्यसको औचित्यमाथि प्रश्न उठ्को भनाई उहाँको छ ।
“हामीले गरेका राम्रा अभ्यासलाई जनतासामु लैजानै पर्छ । गण्डकी प्रदेशका राम्रा पक्षहरू बागमतीले सिक्न सक्छ, र बागमतीका अभ्यासहरू गण्डकीले पनि लिनुपर्छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार र बागमती प्रदेश सरकारले श्रम रोजगारीको क्षेत्रमा गरेका प्रयास तथा सामी कार्यक्रमको हालसम्मको संक्षिप्त प्रगति विवरण पेश गरिएको थियो । दुबै प्रदेशका सचिवहरू, सम्बन्धित मन्त्रालयका निर्देशक तथा कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास गर्ने र प्रदेशस्तरमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
