हिमाली आवाज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी(कुमार)ले योङ कम्युनिष्ट लिग (वाईसिएल) धेरै प्रचण्ड जन्माउने संगठन बन्नुपर्ने बताउनुभएको छ ।
वाईसिएल गण्डकीको प्रथम सम्मेलनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै भन्नुभयो,‘वाईसिएल पार्टीको जनवर्गिय संगठन मात्र होईन, यो त पार्टीका उत्तराधिकारी संगठन हो, सहायक संगठन हो, त्यसैले यो संगठन धेरै प्रचण्डहरु जन्माउने संगठन बन्नुपर्छ ।’

वाईसिएल नेपालका फ्रयाक्सन ईञ्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा)ले वाईसिएल माओवादी पार्टीको सारथी बन्नुपर्ने बताउँदै माओवादीले २०८४ मा पार्टीप्रति जनताको उभार ल्याएर पहिलो पार्टी बन्ने लक्ष्य लिएको भन्दै सो लक्ष्यलाई साकार पार्न वाईसिएल सारथी बन्नुपर्ने उहाँले बताउनुभयो ।वाईसिएलका केन्द्रीय अध्यक्ष सुबोध श्रीपालीले पार्टी बलियो बनाउन वाईसिएल रातदिन खट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रदेश वाईसिएल फ््रयाक्सन ईन्चार्ज ताराप्रसाद भुषाल, प्रदेश ईन्चार्ज नरेश केसी, अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरूङ, सहसंयोजक द्वय थमन गुरूङ, ईश्वर बस्याल र प्रदेश अध्यक्ष शरण सापकोटालगायतले पनि भनाई राख्नुभयो ।
शनिबारसम्म सञ्चालन हुने सम्मेलनले नया नेतृत्व चयन गर्ने वाईसिएलका नेता विपीन आचार्यले हिमाली आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका २५० जना प्रतिनिधि सहभागी छन् ।