हिमाली आवाज । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यसको अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ।
लेखा समितिमा करिब साढे ४ घन्टा लामो छलफलपछि सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन तथा त्यो उपसमितिमा रहेका गोकुल बास्कोटा र तारा लामाको पुरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई समेत अख्तियारमा पठाउने निर्णय गरेको जानकारी दिएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि लेखा समितिमा बुधबार छलफल भएको हो।छलफलमा विषयवस्तुमा भन्दा पनि चर्को स्वरमा बोल्न सांसदहरुले प्रतिस्पर्धा गरेका थिए।
प्रतिवेदनले औंल्याएका विषयवस्तु, कमीकमजोरीमा भन्दा पनि सांसदहरुको ध्यान चर्को स्वरमा बोलेर विषययान्तर गर्न केन्द्रित हुँदा समिति बैठकमा पटक पटक होहल्ला मच्चिएको थियो। लेखा समितिको बैठक भन्न अस्वभाविक देखिने गरी सांसदहरु एक अर्काप्रति नोकझोकमा उत्रिएका छन्। एकपटक मात्रै बोल्ने कि दोहो¥याएर बोल्ने भन्ने विषयमा समेत सांसदहरु पटक पटक विवादमा उत्रेका थिए।