हिमाली आवाज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि सरकारले आगामी वर्षको बजेटमा व्यवस्था गर्ने बताउनुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पोखराको फुटबल स्टेडियमको मर्मत सम्भार र क्रिकेट रंगशालाका लागि बजेट विनियोजन गरिने बताउनुभयो ।
“चालू वर्षमा पोखरामा खेलकुद पूर्वाधारका बजेट भएन, त्यसैले काम गर्न सकेनौँ । पोखरालाई खेलकुदको हब बनाउका लागि आउने बजेटमा क्रिकेट र रंगशालाको मर्मत सम्भारका लागि पहिले भन्दा बढी बजेट विनियोजन हुन्छ । ” मन्त्री चौधरीले भन्नुभयो ।

पोखरा रंगशालामा धेरै खेलकुदका पूर्वाधार एकै ठाउँमा रहेकाले पोखरा स्पोर्टस् हब बन्न सक्ने सम्भावना रहेको उहाँको भनाई छ । “खेलकुद मन्त्रालयले पोखरालाई पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको छ । ” खेलकुदमन्त्रीले भन्नुभयो ।
मन्त्री चौधरीले खेलाडी तथा युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने खालका कार्यक्रम सरकारले ल्याउन लागेको जानकारी दिनुभयो । खेलकुद क्षेत्रमा समेत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत यस क्षेत्रमा परिर्वत ल्याइने उहाँले बताउनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो,“राम्रो प्रशिक्षणको व्यवस्था गर्ने र युवाहरुलाई विदेश पलायन रोक्ने र देशभित्रै रहन सक्ने कार्यक्रम ल्याउँदैछौँ । खेलाडीलाई रोजगारी दिने नीति आउँदै छ । खेलकुदलाई सामाजिक उत्तरदायित्वमा समेत राखेका छौँ ।”
खेलकुदमन्त्री चौधरीले दसौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त तयारी गरेर मात्र मिति घोषणा गरिने बताउनुभयो । पूर्वाधार निर्माणको समय पर्याप्त नहुँदा यसअघि तोकिएको मिति दुई पटक सार्नु परेको उहाँको भनाई छ ।