हिमाली आवाज । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताउनुभएको छ ।
सरकारले आगामी वर्ष २०८२÷०८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उहाँले उल्लेख गर्नुभयो ।
पोखरामा आज खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्य सचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने समेत बताउनुभयो ।
“इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रुपमा लिनुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो ।
सदस्य सचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

परिषद्को बजेट प्रश्ताव गर्दा क्रिकेटको उमेर समूहको वल्र्डकपका लागि समेत मध्यनजर गरी प्रश्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
“पोखरा रंगशालाभित्रको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । यस रंगशालाका लागि तेब्बर बढाएर प्रश्ताव गरिएको छ । विस्तृृत बजेटको खाका आउँदा तपाईहरुले थाहा पाउनुहुनेछ ।” सदस्य सचिवले भन्नुभयो ।
उहाँले उच्च पर्वतीय खेल मैदानका लागि समेत बजेट विनियोजन भएको जानकारी दिनुभयो । “प्रदेश र केन्द्रका साझेदारी प्रकृतिका कार्यक्रम समेत राखेका छौँ । स्थानीय तहमार्फत कार्यान्वयन गर्ने गरी प्रश्ताव बजेटमा गरिएको छ ।” उहाँले भन्नुभयो ।
सदस्य सचिव घिसिङले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीमा गर्ने गरी १० औँ झण्डा हस्तान्तरण गरिएको भएपनि विविध कारणले तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन नसकेको बताउनुभयो ।दशौँ राष्ट्रिय खेलकुदका लागि समेत बजेट विनियोजन गरिएकाले आगामी वर्षमा प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
नेपाल सरकार, प्रदेश सरकार र अन्य सबै सरोकारवालाहरुको समान बुझाइ राष्ट्रिय खेलकुदका सम्बन्धमा हुनुपर्ने र नेपाली खेलकुद प्रतियोगिताहरु समयमै कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल हुनुपर्ने उहाँले बताउनुभयो ।