गण्डकी सरकारले ‘राइड सेयरिङ’ एक महिना स्थगित गर्यो, खुले सार्वजनिक यातायात

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगन गर्ने निर्णयपछि आज देखी देशभर सार्वजनिक यातायात सञ्चालन भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु तथा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकारी र वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको थियो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले यातायात व्यवसायीहरुलाई वार्ताका लागि पुनः आह्वान गर्ने सो अवधिभर गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबारनै सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणको लागि राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन प्रदेश सरकारलाई पत्राचार गरिएको सचिव अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । त्यसको विरोधमा व्यवसायीले गत जेठ ८ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

त्यसपछि आफ्नो माग पूरा नभएको भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखी गण्डकी प्रदेश र जेठ १९ गतेदेखी देशभर सार्वजनिक यातायात बन्दै गर्दै आएका छन् ।

व्यवसायीले देशव्यापी रुपमा यातायात बन्द गरेपछि सोमबार राति सरकार र व्यवसायीबीच सहमति भएपनि प्रदेश सरकारले निर्णय नगरेसम्म बन्द जारी राखेका थिए ।

Comments
Loading...