हिमाली आवाज । नेकपा(माओवादी केन्द्र) पोखरा महानगरको तेस्रो सम्मेलनको तयारीलाई तीव्र बनाइएको छ ।
यही जेठ २७ गते पोखरा सभागृहमा हुने सम्मेलनको पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने निश्चित भएको पार्टीका केन्द्रीय सदस्य एवं पोखरा महानगरका इन्चार्ज तेजकुमारी पौडेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
पौडेलका अनुसार अधिवेशन तयारीका लागि सबै वडाहरुमा तयारीका काम भइरहेका छन् । माओवादीले सम्मेलनलाई जनपरिचालनका रुपमा समेत लिएको छ ।
पोखराको चिप्लेढुँगाबाट जुलुस सुरु भएर न्यूरोड हुँदै सभागृहमा आएर सम्मेलनमा सहभागी हुनेछ । “पोखरा महानगरको सम्मेलनलाई भव्य बनाउने गरी तयारीका काम भइरहेको छ । हामी विशाल जुलुस सहित सभागृहमा पुग्नेछौँ र सभागृहमा अध्यक्ष कमरेड प्रचण्डले कार्यक्रम उद्घाटन गर्नुहुनेछ ।” केन्द्रीय सदस्य पौडेलले भन्नुभयो ।
माओवादीले पोखराका सबै वडामा अधिवेशन सकिएको जनाएको छ । यसैगरी सम्मेलनमा पाँच सय ५० जना भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिनुभयो ।
सम्मेलन तयारीका लागि व्यवस्थापन, जनपरिचालन, आर्थिक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन लेखन, निर्वाचन सहजीकरण, सम्मान सिफारिस र स्वयंसेवक परिचालन उपसमितिहरू गठन गरिएको छ ।
यी उपसमितिहरूमा हर्कमान विश्वकर्मा, सूर्य तिवारी, भानुभक्त अधिकारी, विमला पहारी, जनकराज पराजुली, निर्मला सुवेदी, शिवजी लामिछाने, अनिल परियार लगायतका नेताहरुलाई संयोजकको जिम्मेवारी दिइएको समितिले जनाएको छ । सम्मेलनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुने माओवादी केन्द्रले जनाएको छ ।