टाटा समूहको उदाहरण र हाम्रो देशको मौन पूँजीपति वर्ग

✍️ राम नेपाली (आर्यन)
भारतको अहमदावादमा गत बिहीबार दिउसो भएको दुःखद विमान दुर्घटनामा ज्यान गुमाएका पीडित परिवारलाई टाटा समूहले प्रतिपरिवार एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा ग¥यो। यो निर्णय केवल आर्थिक सहयोग मात्र होइन, उत्तरदायी व्यवसायी चेतना र नागरिकप्रतिको संवेदनशीलता पनि हो। राज्यको सेवा–सुविधा लिने निजी क्षेत्रले जनताको पीडामा यसरी उभिनु सामाजिक उत्तरदायित्वको उच्च उदाहरण हो।

तर यस्तै संकटको बेला हाम्रो देशमा भने पूरै विपरीत अवस्था देखिन्छ। यहाँका ठूला व्यापारी घराना र उद्योगपति वर्ग विपद्को बेला प्रायः मौन देखिन्छन्। अझ दुःखद कुरा के छ भने, उनीहरू मध्ये धेरैले त विपद्लाई नै आफ्नो फाइदाको अवसरका रूपमा लिएको स्पष्ट देखिन्छ।

२०७२ सालको महाभूकम्प हुँदा लाखौं नेपाली नागरिक विस्थापित बने, हजारौंले ज्यान गुमाए। २०७७ सालमा कोरोना महामारी फैलिँदा अक्सिजन, औषधि, खाना, उपचार सबैमा चरम अभाव भयो। २०८० सालको जाजरकोट भूकम्पले कर्णालीका जनताको घर, जीवन र आशा लुट्यो। मनसुनजन्य बाढी–पहिरोले देशका दर्जनौं जिल्लाहरूमा ठुलो क्षति पु¥यायो। तर यस्तो विपत्तिको घडीमा पनि निजी क्षेत्रको सक्रियता देखिएन। न त राहत सहयोगका ठोस उदाहरण देखिए, न नै पीडितप्रतिको संवेदनशीलता। बरु विपत्तिको बेला औषधि, स्वास्थ्य सामग्री र निर्माण सामग्रीमा कृत्रिम अभाव सिर्जना गरेर मुनाफा कमाउने प्रवृत्ति देखियो। कतिपयले त राहत, आपूर्ति र पुनर्निर्माणमा ठेक्का, पहुँच र बिचौलियामार्फत फाइदा उठाए।

नेपालका पूँजीपति वर्ग राज्यबाट कर छुट, विद्युत् सहुलियत, अनुदान, कर माफीजस्ता थुप्रै सुविधा लिन्छन्। तर जब जनताको जीवन संकटमा पर्छ, उनीहरू कतै देखिँदैनन्। बिजुली प्राधिकरणलाई तिर्नुपर्ने अर्बौंको बक्यौता तिर्न नमान्ने उद्योगहरू, कर छल गरेर पनि देशसेवकको मुखौटा लगाउने व्यापारीहरू, राजनीतिक दलहरूलाई जग्गा दान गरी नीतिनिर्माणमा प्रभाव जमाउने घराना, र सरकार नै बिचौलियाको बैठक कोठामा निर्माण हुने अभ्यास—यी सबैले हाम्रो मुलुकको वर्तमान पूँजीवादी चरित्रको नग्न र निर्दयी स्वरूप प्रस्तुत गर्छ।

त्यसको ठीक विपरीत, टाटा समूहले देखाएको मानवीयता र उत्तरदायित्वले हामीकहाँ अभावमा परेको चेतना झकझक्याएको छ। भारतमा एउटा निजी समूहले विपद्को बेला राज्यसंगसँगै पीडितसँग उभिएको देख्दा, हाम्रो देशको मौन पूँजीपति वर्गप्रति गहिरो निराशा उत्पन्न हुन्छ। टाटा समूहले नाफा मात्रै होइन, समाज र राष्ट्रप्रतिको दायित्व पनि देखेको छ। हाम्रो यहाँ चाहिँ विपत्तिको समय ठेक्का, दलाली र आयात–बिक्रीको सुनौलो अवसरजस्तो देखिन्छ।

अब प्रश्न उठ्छ—के नेपालमा पनि कहिल्यै टाटाजस्तो उत्तरदायी, निष्ठावान् र समाजप्रति समर्पित उद्यमी जन्मिनेछन्? के राज्यले निजी क्षेत्रलाई अनुदान र छुट दिँदा उत्तरदायित्व पनि माग्नेछ? के जनताले यस्ता मौन पूँजीपति वर्गको भूमिका र प्रवृत्तिलाई खुलेर प्रश्न गर्न थाल्नेछन्?

जब व्यवसायीहरू राष्ट्रप्रति उत्तरदायी बन्छन्, जनताको सुख–दुःखमा साथ दिन थाल्छन्, तब मात्र समाज न्यायपूर्ण, उत्तरदायी र संवेदनशील बन्न थाल्छ। त्यो दिनका लागि हामी सबैको चेतना, नेतृत्व र निजी क्षेत्रको विवेक जाग्न जरुरी छ।
 लेखक परिचयः
राम नेपाली (आर्यन)
समाज विश्लेषक एवं स्तम्भकार हिमाली आवाज
माछापुच्छ्रे गाउँपालिका, कास्की
📧 सम्पर्कः [email protected]

Comments
Loading...