हिमाली आवाज । पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका –१७ छोरेपाटनस्थित फुस्रे खोलामा दिउँसो अन्दाजी २ः३० बजे पौडी खेल्नेक्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपालीको बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिँहले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको सूचना प्राप्त भएपछि गणबाट उद्धारका सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा गोताखोर सहितको १४ जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।
उद्धारमा खटिएको टोलीले खोजी गर्ने क्रममा करिव २० फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको थियो ।
उद्धारपछि तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा साँझ ५ः०५ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक सिँहले जानकारी दिनुभयो ।
