कालिका बहुमुखी क्याम्पसमा दोस्रो चरणको मन्टेस्वरी तालिम सुरु

हिमाली आवाज । पोखरा महानगरपालिका–१४ मा अवस्थित कालिका बहुमुखी क्याम्पसमा दोस्रो चरणको मन्टेश्वरी तालिम आइतबारदेखी प्रारम्भ भएको छ ।
क्याम्पसमा शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरूको पेशागत दक्षता अभिवृद्धि र व्यावहारिक क्षमता विकास गर्ने उद्देश्यसहित दोस्रो चरणको मन्टेस्वरी तालिम क्याम्पस सभाहलमा औपचारिक रूपमा प्रारम्भ गरिएको हो ।

कालिका क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट शैक्षिक गुणस्तर प्रत्यायन प्राप्त गरिसकेको नेपालकै एक उत्कृष्ट सामुदायिक क्याम्पसमा पर्दछ ।

तालिम उद्घाटन समारोहमा क्याम्पस प्रमुख बिरन्जी गौतमले क्याम्पसको शैक्षिक सुधार, गुणस्तरीय शैक्षिक वातावरण निर्माण र व्यावहारिक शिक्षाको सुदृढीकरणमा शिक्षा विभागले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

उहाँले क्याम्पसले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी जीवन उपयोगी सीप, व्यवहारिक ज्ञान र पेसागत योग्यताका विविध पक्षहरूमा सक्षम बनाउँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै यसले विद्यार्थीलाई सिकाइप्रति थप दिग्दर्शित, जिम्मेवार र सक्रिय बनाउँदै यसको प्रत्यक्ष प्रभाव भविष्यको व्यावसायिक जीवनमा देखिनेमा आफू अत्यन्त आशावादी रहेको उल्लेख गर्नुभयो ।

सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्दै आधुनिक प्रतिस्प्रदी शैक्षिक वातावरणमा मन्टेस्वरी विधिको ज्ञान अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीले पाउने व्यावहारिक सिकाइले उनीहरूलाई आत्मनिर्भर, सक्षम र व्यवहारिक रूपमा दक्ष बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै प्रविधिमूलक आधुनिक शिक्षाको वर्तमान परिवेशमा यस प्रकारका तालिमले विद्यार्थीको पेसागत यात्रा सहज र प्रभावकारी बनाउँछ भएकोले क्याम्पसले निरन्तर यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नु प्रशंसनीय रहेको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति तथा शिक्षा विभाग प्रमुख लोकनाथ सुबेदीले स्वागत मन्तव्य राख्दै तालिमको आवश्यकता, उद्देश्य, औचित्य र दीर्घकालीन महत्वबारे विस्तृत व्याख्या गर्नुभयो । उहाँले सामुदायिक क्याम्पसमा मन्टेस्वरी तालिम जस्ता कार्यक्रम नवीन अभ्यास र गुणस्तरीय शैक्षिक विस्तारको उदाहरण भएको उल्लेख गर्दै कालिका क्याम्पसले विगतदेखि नै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाउनुभयो।

सुवेदीले यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाएर आगामी वर्षहरूमा अझ व्यापक रूपमा लागू गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै शिक्षा विभागले शैक्षिक गुणस्तर अभिबृद्धिको लागि बार्षिक कार्ययोजना निर्माण तथा रिसर्च आर्टिकल लेखन सम्बन्धी विभिन्न कार्यशालासमेत गर्दै आएको कुरा स्पष्ट पार्नुभयो ।

कार्यक्रमकी प्रमुख प्रशिक्षक तथा मेरील्याण्ड मन्टेस्वरीकी संस्थापक सिता तिमिल्सिना सुबेदीले तीन महिनामा सम्पन्न हुने मन्टेस्वरी तालिमका विभिन्न मोड्युल, तालिमको संरचना, सिकाइका उद्देश्य तथा व्यावहारिक अभ्यासहरूबारे विस्तृत जानकारी दिनुभयाे ।

उद्घाटन समारोहको सञ्चालन शिक्षा विभागका वरिष्ठ उप–प्राध्यापक पुष्पराज तिमिल्सिनाले गर्नुभयो । कार्यक्रममा क्याम्पसका प्रशासकीय प्रमुख हुकुमराज थापा, शिक्षक, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य उपस्थिति थियो ।

Comments
Loading...