हिमाली आवाज । कास्कीको मादी गाउँपालिकामा बज्रमादी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । बज्र इनर्जी भेन्चर्स प्रालिले प्रवद्र्धन गर्न लागेको यो आयोजना २४ दशमलव आठ मेगाबाटको छ ।
आयोजना निर्माणको कागजी प्रक्रिया सकिएर निर्माण कार्य गर्नुअघि सार्वजनिक सुनुवाईको चरणमा छ । स्थानीयको सल्लाह र सुझाव लिएर काम सुरु गर्ने प्रवद्र्धकको तयारी छ । तर मादीवासीले आयोजनाले हालै आयोजना गरेको सार्वजनिक सुुनुवाई कार्यक्रमनै रोकिदिएका छन् ।
यही मङ्सिर २३ गते आयोजनाले मादी वडा नं ४ को इदी देउरालीमा गर्न लागेको सो कार्यक्रम स्थानीयले माग पूरा नभएसम्मका लागि भनेर स्थगित गरिदिएका हुन् । कार्यक्रम सुरु भएपछि कार्यक्रम स्थगित गरिएको हो । मादीका केही वडाहरुलाई आयोजनाको प्रभावित क्षेत्र भन्दा बाहिर राखिएको भन्दै उनीहरुले कार्यक्रम रोकेका हुन् । आयोजनाले मादी वडा नं ३, ४ , ५, ७, ११, १२ र पोखरा महानगरको २८ नं वडालाई प्रभावितमा राखेको छ । मादीवासीले भने मादीका सबै वडा प्रभावित क्षेत्रमा राखिनुपर्ने माग गरेका छन् ।
मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले आयोजनाले प्रभावित क्षेत्रका स्थानीयसँग समन्वय नगरेको बताउनुभयो । उहाँले मादीका धेरै वडा आयोजनाबाट प्रभावित भएपनि प्रभावित क्षेत्रमा नपरेको र छुटेको बताउनुभयो । “हामी विकासको विरोधी होइनौँ, विकास चाहन्छौँ । तर आयोजना बन्दै गर्दा यहाँका धेरै नागरिकहरु प्रभावित हुने अवस्था छ । मादी पालिकानै प्रभावित क्षेत्रमा पर्नुपर्दछ । स्थानीयसँग समन्वय नगरेकै कारण कार्यक्रम रोकेका हौँ। ” वडाध्यक्ष गुरुङले भन्नुभयो । उहाँले स्थानीय र प्रभावित क्षेत्रका जनताको माग पूरा नभएसम्म कुनै पनि काम अघि नबढाउन समेत माग गर्नुभएको छ ।

