सिद्ध बराह आधारभूत विद्यालयको हिरक जयन्ती तयारी तीव्र

हिमाली आवाज । पोखरा महानगरपालिका–२४, कास्कीकोटमा रहेको सिद्ध बराह आधारभुत विद्यालयको हिरक जयन्तीको तयारीलाई तीव बनाइएको छ ।
कास्कीकोटको प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र धार्मिक–सांस्कृतिक महत्वले भरिपूर्ण भू–भाग गुन्टेचौरमा अवस्थित विद्यालयले स्थापना कालदेखि पु¥याउँदै आएको शैक्षिक योगदानको सम्मानस्वरूप हिरक जयन्ती मनाउन लागिएको हो ।

हिरक जयन्ती महोत्सवको तयारीलाई तीव्र पार्दै यही माघ ३ गते विद्यालय परिसरमा मूल समारोह समितिको विस्तृत बैठक सम्पन्न भएको छ ।
बैठकमा स्थानीय बुद्धिजीवी, पूर्व शिक्षक, पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विभिन्न आमा समूह, युवा क्लब, भजन तथा बाजा समूह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई ऐतिहासिक, सांस्कृतिक र समुदायमैत्री बनाउने उद्देश्यले बैठकले महोत्सवको संरचना, सहभागिता, व्यवस्थापन र प्रचारप्रसार सम्बन्धी ठोस निर्णयहरू गरेको छ ।

बैठकले आगामी माघ १० गते बिहान ८ बजे विद्यालयको प्रभाव क्षेत्रभित्र प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने तथा सोही दिन ११ बजे हिरक जयन्तीको औपचारिक समुद्घाटन समारोह आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ । प्रभातफेरी कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लब, भजन समूह, सांस्कृतिक समूह, स्थानीय बाजा समूह, शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा विद्यार्थीहरूको सांस्कृतिक झाँकीसहित सहभागिता रहनेछ ।

कार्यक्रमलाई भव्य,सभ्य,उल्लाहसमय तथा अनुशासित बनाउन विभिन्न उपसमितिहरू सांस्कृतिक प्रस्तुति व्यवस्थापन, अतिथि स्वागत तथा मञ्च व्यवस्थापन, प्रचारप्रसार तथा सूचना संयोजन, आर्थिक संकलन तथा सहयोग परिचालन, स्मारिका प्रकाशन र ऐतिहासिक अभिलेख संकलन जस्ता विषयमा स्पष्ट जिम्मेवारी तोकिएको छ ।

बैठकमा बोल्दै विद्यालयका प्रधानाध्यापक रिना शाहले विद्यालयको ६० वर्षे शैक्षिक यात्रालाई समुदायको साझा उपलब्धिका रूपमा लिँदै हिरक जयन्तीलाई संस्थागत इतिहास संरक्षण र भावी पुस्ताका लागि प्रेरणादायी अवसर बनाइने बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशीराम सुवेदीले विद्यालयको विकासमा समुदायको भूमिकालाई स्मरण गर्दै हिरक जयन्तीलाई “विद्यालय र समाजबीचको सम्बन्ध पुनः सुदृढ गर्ने ऐतिहासिक क्षण” का रूपमा व्याख्या गर्नुभयो ।

स्मारिका प्रकाशन तथा इतिहास संकलन संयोजक लोकनाथ सुवेदीले विद्यालयको स्थापना, संघर्ष, योगदान र पूर्व विद्यार्थीहरूको सफलताको विवरण समेटिएको विशेष स्मारिका प्रकाशनको तयारी भइरहेको जानकारी दिनुका साथै बैठकमा उठेका विभिन्न जिज्ञासाहरुलाई स्पष्ट पार्नुभयो । त्यस्तै आर्थिक संकलन संयोजक लेखनाथ सुवेदीले महोत्सवका लागि स्थानीय, पूर्व विद्यार्थी तथा शुभेच्छुकबाट सहयोग जुटाइने योजना प्रस्तुत गर्नुभयो ।

त्यसैगरी विद्यालयका पूर्व वि.व्य.स. अध्यक्ष, पूर्व शिक्षक एवं समाजसेवी शालिकराम सुबेदीले विद्यालयको एैतिहासीक कार्यक्रमलाई सफल बनाउनको लागि सम्पूर्ण अभिभावक, बुद्धिजिवी, समाजसेवी, सरोकारवालाहरुलाई आग्रह गर्दै हिरक जयन्ती सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकको सहजीकरण विद्यालयका शिक्षक तथा सूचना अधिकारी विनोद सुवेदीले गर्नुभएको थियो । सहभागी विभिन्न आमा समूह, युवा क्लब र सांस्कृतिक समूहका प्रतिनिधिहरूले आ–आफ्नो तर्फबाट प्रभातफेरी, सांस्कृतिक कार्यक्रम, तथा विद्यालयको हिरक जयन्ती सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयले हिरक जयन्ती महोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई शैक्षिक इतिहासको अभिलेखीकरण, सामुदायिक एकता सुदृढीकरण तथा विद्यालयप्रतिको साझा अपनत्व अभिवृद्धिको अभियानका रूपमा अगाडि बढाइने जनाएको छ ।

Comments
Loading...