हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद महासंघ(साफ) यू–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ ।
साफको तालिका अनुसार पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा हुन लागेको प्रतियोगितामा नेपाल सहित चार देशको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटानको सहभागिता रहेको छ । साफका महासचिव कट्टेलले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सहभागी देशका खेलाडीहरु आज साँझसम्म पोखरा आइपुग्ने उहाँको भनाई छ ।
“साफ महिला फुटबल पहिलोपटक राजधानी काठमाडौँ बाहिर सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सहभागी देशका खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापक लगायतको टोली यहाँ आइपुग्नेछ ।” महासचिव कट्टेलले भन्नुभयो । सहभागी टोलीका लागि पोखराको लामाचौरस्थित गोष्तेघाट खेलमैदानमा प्रशिक्षणमा व्यवस्था मिलाइएको कट्टेलले जानकारी दिनुभयो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।
लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगिताले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास लिइएको तुलाधरले बताउनुभयो ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मीलन गुरुङले फुटबल मैदानको स्तरोन्नति, प्लेयर बक्स निर्माण लगायतका काम सम्पन्न भएको जानकारी दिनुभयो । लामो प्रतिक्षापछि पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले यस क्षेत्रका खेलकुदकर्मी उत्साहित रहेको उहाँले बताउनुभयो ।
प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।


