केफको वार्षिकोत्सव सुरु,सम्पादक दवाडी सहित तीन जनालाई सम्मान

पोखरा,१६ माघ । पोखरा महानगरपालिका–१ सिमपानीमा अवस्थित करुणानिधि एजुकेसन फाउन्डेसन(केफ) माध्यमिक विद्यालयकाे ३२ औँ वार्षिकोत्सव आजदेखी सुरु भएको छ । दुई दिनसम्म चल्ने वार्षिकोत्सवको पहिलो दिन विभिन्न विधामा तीन जनालाई सम्मान गरिएको छ । हिमाली आवाज साप्ताहिक तथा अनलाइन संस्करण हिमाली आवाज डटकमका सम्पादक कृष्ण दवाडी पत्रकारिता विधातर्फ सम्मानित हुनुभयो ।
पत्रकारिता क्षेत्रमा रहेर नागरिकलाई सत्यतथ्य र निष्पक्ष समाचारका माध्यमबाट सुसुचित गरी सुकर्ममा लाग्न अभिप्रेरित गरेकामा विद्यालयले सो सम्मान गरेको हो ।

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल र विद्यालयका प्राचार्य डिल्लीराम अधिकारी तथा शिक्षक अभिभावक संघका अध्यक्ष वसन्त बास्तोलाले सम्मानपत्र र दोसल्लाबाट सम्मान गर्नुभयो ।

सम्मानित व्यक्तित्व दवाडी विगत दुई दशकदेखी पोखरामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ हाल हिमाली आवाज सहित राष्ट्रिय समाचार समिति(रासस)को कास्की जिल्ला समाचारदाताका रुपमा क्रियाशील हुनुहुन्छ ।

यसैगरी विद्यालयले कला साहित्य विधामा सुरेशरमण अधिकारी तथा समाजसेवातर्फ क्या तेजबहादुर बस्नेतलाई समेत सम्मान गरेको छ । विद्यालयले हरेक वर्ष पत्रकारिता, साहित्य र समाजसेवा विधामा सम्मान प्रदान गर्दै आएको विद्यालयका सहायक प्राचार्य भानुभक्त पोखरेलले बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा चित्रकला तथा हस्तकर्ला प्रदर्शनी, पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रम हुनेछ । पहिलो दिन कक्षा नर्सरीदेखी कक्षा ३ सम्मका विद्यार्थीले आफ्नो प्रस्तुती राखेका थिए । त्यसैगरी शनिबार कक्षा ४ देखी माथिका विद्यार्थीको प्रस्तुती सहित पुरस्कार वितरण कार्यक्रम हुने विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपसचिव पौडेलले विद्यार्थीलाई शिक्षासँगै नैतिक अनुसासन समेत सिकाउन जोड दिनुभयो ।

“बालबालिकालाई राम्रो संस्कार र बानीको विकास गराउन विद्यालय र अभिभावको भूमिका रहन्छ । पढेका कुरा व्यवहारमा कार्यान्वयन गर्न सकेन असल नागरिक उत्पादनमा योगदान पुग्छ ।” पौडेलले भन्नुभयो ।

हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै शैक्षिक उपलव्धी बाहेक एक वर्षका अवधिमा विद्यालयले ३८ बाह्य प्रतियोगिताहरुमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो । विद्यालयमा हाल एक हजार ४०० बढी विद्यार्थी अध्ययनरत छन् ।

Comments
Loading...