साफ महिला च्याम्पियनसिपको तयारी पूरा

हिमाली आवाज । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलीदेखी सुरु हुने दक्षिण एशियाली खेलकुद महासंघ(साफ) यु–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानकाबीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताका लागि सहभागी चार वटै देश तयार भएका छन् । नेपाल सहित भारत, भुटान र बङ्गलादेशले उपाधिका लागि प्रतिस्र्धा गर्ने आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ ।

पोखरामा शुक्रबार आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा उपस्थित चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो फुटबलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।

नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजान दिनका लागि टोली प्रतिवद्ध रहेको बताउनुभयो । “तयारी राम्रै भएको छ । घरेलु मैदान र समर्थकको साथ छ, पक्कै राम्रो रिजल्ट दिनेछौँ ।” श्रेष्ठले भन्नुभयो ।

प्रतियोगितामा सहभागी चारवटै टोलीको उत्तिकै सम्भावना रहेकाले कुनै पनि टोली कमजोर नरहेको प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
कप्तान सुशीला केसीले छोटो समयमा पनि धेरै कुरा सिकेको बताउनुभयो । उहाँले भन्नुभयो,“ घरेलु मैदानमा भएकाले राम्रो रिजल्ट ल्याउनेछौँ, छोटो समयमा धेरै सिकेका छौँ, सुधार भएको छ । राम्रो फुटबल खेल्नेछौँ ।”

बंगलादेशका प्रशिक्षक बेटर बटलरले प्रतियोगिताले नयाँ खेलाडीहरुलाई अवसर र सिक्ने मौका प्रदान गरेको बताउनुभयो ।
भारतकी प्रशिक्षक पामेला कोन्टीले युवा खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । युवा खेलाडी अत्यन्त उत्साहित रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । नेपालसँगको खेल कठिन हुने प्रशिक्षक पामेलाले अनुमान गर्नुभयो ।

भुटानकी प्रशिक्षक टंका माया घल्लीले युवा टोलीले अवसर पाएकाले राम्रो तयारी गरेर आएको बताउनुभयो । उपाधिमा मात्र केन्द्रित नभई महिला टोलीको स्तर विकासमा ध्यान दिएको प्रशिक्षक घल्लीले बताउनुभयो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।

Comments
Loading...