हिमाली आवाज । पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो । यसअघि समूह ‘डी’बाट बाल मन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ ।
बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो । टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १६.४ ओभरमा सबै विकेट गुमाएर ८३ रनको मध्यम स्तरको योगफल तयार गरेको थियो । छोरेपाटनका लागि अनिष थापाले ११ बलमा १८ रन, उज्वल पौडेलले २९ बलमा १६ रन र सोहन आचार्यले २२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्ने क्रममा टप्सका विपिन शर्माले ३ ओभरमा २० रन खर्चेर ३ विकेट, शिव सुवेदीले ३.४ ओभरमा १६ रन खर्चेर २ विकेट तथा सौरव तिमिल्सिनाले ३ ओभरमा १५ रन खर्चेर २ विकेट हत्याए ।
८४ रनको मध्यम लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स मावि ९.५ ओभरमा सबै विकेट गुमाएर ४९ रनमा समेटियो । छोरेपाटनका बलरहरुसामु टप्सका व्यडाट्सम्यानहरु निरीह बनेका थिए । छोरेपाटनका खेलाडीको कसिलो बलिङका बाबजुद शिव सुवेदीले २३ बलमा १० रन र संयोग तिवारीले १० बलमा ९ रन बनाएका थिए । अन्य खेलाडीको व्याट नचल्दा टप्स पहिलो चरणबाटै बाहिरिन पर्यो । यद्वपी टप्सले सान्त्वना जितका लागि माघ २३ गते कुमुदिनी होम्ससँग प्रतिष्पर्धा गर्नेछ ।
बुधबारको खेलमा टप्सलाई सस्तैमा समेट्न छोरेपाटनका किशोर थापाले २.५ ओभमा १५ रन खर्चेर ५ विकेट, किस्मत पौडेलले २ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ३ ओभरमा ४ रन खर्चेर १ विकेट हत्याए ।
सो खेलमा छोरेपाटनका ५ विकेटधारी किशोर थापा प्लेयर अफ द म्याच घोषित भए ।
बुधबार भएको समूह ‘डी’को अन्तिम खेलमा डायमण्डले सान्त्वना जित हात पार्यो । यस समूहबाट बाल मन्दिर दुई खेल जित्दै समूह बिजेता बनेर सेमीफाइनलमा प्रवेश गरिसकेको छ । बुधबारको प्रतिष्ठाको खेलमा डायमण्डले ग्लोबल कलेजियटलाई २ रनको झिनो अन्तरले पराजित गर्यो ।
टस जितेर व्याटिङ रोजेको डायमण्डले १५.५ ओभरमा सबै विकेट गुमाएर ९६ रनको मध्यम स्तरको योगफल बनाएको थियो । डायमण्डका लागि मिलन पौडेलले १६ बलमा १९ रन र शिशिर नेपालले १८ बलमा ११ रनको योगदान दिए । डायमण्डलाई ग्लोबलका आयुष्मान गौतमले ४ ओभरमा एक मेडनसहित ७ रन खर्चेर ३ विकेट, विमोचन सापकोटाले ४ ओभरमै २९ रन खर्चेर २ विकेट र कविर खत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट हत्याए ।
९७ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको ग्लोबल कलेजियटले ९४ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि स्मिथ रानाभाटले ४० बल सामना गरेर २३ र विमोचन सापकोटाले १६ बलमा २० रन बनाए । ग्लोबललाई दवाबमा राख्न डायमण्डका शिशिर नेपालले १.४ ओभरमा ७ रन खर्चेर २ तथा सिजन सापकोटाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
खेलमा डायमण्डका शिशिर नेपाल प्लेयर अफ द म्याच घोषित भए ।प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेलमा गुरुकुलबिरुद्द जनप्रिय मावि तथा दोस्रो खेलमा आयोजक प्रतिभा माविबिरुद्द नेपाल भारत मैत्री विद्यालय प्रतिष्पर्धामा उत्रिनेछन् ।


