सन्देश श्रेष्ठ÷हिमाली आवाज । प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मदरल्याण्ड सेकेण्डरीले गुरुकुल विद्या सदनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । टस जितेर गुरुकुलले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि शुभम गिरीले ४४ बलमा ३७ रन, अनुराग भण्डारीले १६ बलमा २६ रन र भुवनबहादुर भण्डारीले १४ बलमा १४ रनको योगदान दिए ।
मदरल्याण्डलाई विशाल लक्ष्य बनाउनबाट रोक्ने क्रममा गुरुकुलका सुदीप सुनारले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चेर ३ विकेट तथा एलन भट्टले ४ ओभरमा १ मेडन फाल्दै ३६ रन खर्चेर ३ विकेट र युवराज घर्ती मगरले २.५ ओभरमा १४ खर्चेर २ विकेट लिए ।
१२२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको गुरुकुलले ११.१ ओभरमा सबै विकेट गुमाएर ५७ रनमा सिमित भयो । गुरुकुलका लागि विवेक बानियाले २० बलमा २८ रन र देवेन्द्र खड्काले ८ बलमा ६ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । गुरुकुललाई सस्तैमा समेट्न मदरल्याण्डका विलोभ मल्लले ४ ओभरमा केवल १० रन खर्चेर ६ विकेट तथा गौरव, सद्रिस र रमेशले थप १÷१ विकेट लिए ।
खेलमा मदरल्याण्डका ६ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, शुक्रबार भएको अर्को खेलमा टप्स माविले कुमुदिनी होम्स माविलाई ४ विकेटले पराजित गर्दै सान्त्वना जित हात पार्यो । सेमीफाइनल पुग्ने बाटो बन्द भएर सान्त्वना जितका लागि मात्र भएको प्रतिष्पर्धामा कुमुदिनी होम्सले टस जितेर पहिले व्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२५ रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण रन बनाउने क्रममा कुमुदिनीका मोहम्मद अलीले ४३ बलमा ३७ रन, लोचन राजवंशीले २० बलमा २० रन र लकी गुप्ताले १० बलमा ११ रनको योगदान दिए । कुमुदिनीलाई दवाबमा राख्न टप्सका जेसिस शाहले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट, अनुज शर्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट र सौरभ तिमिल्सिनाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।
१२६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स माविले १७.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । लक्ष्य भेट्टाउने क्रममा टप्सका संयोग तिवारीले १९ बलमा २० रन, अनुज शर्माले ९ बलमै १३ रन र सौरभ तिमिल्सिनाले २३ बलमा १४ रनको योगदान दिए । टप्सको व्याटिङ अर्डर ध्वस्त बनाउने क्रममा कुमुदिनीका लकी गुप्ताले ४ ओभरमा २२ रन खर्चेर २ विकेट, विद्वान देवकोटाले ४ ओभरमा २५ खर्चेर २ विकेट नै लिए । सो खेलमा टप्सका अनुज शर्मा प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।


