नेकपाले बहुमत ल्याउने गरी चुनावी तयारीमा लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

हिमाली आवाज ।  नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले आगामी फागुन २१ गतेको निर्वाचन सर्ने हो कि भन्ने दुविधामा कोही नपर्न र निर्वाचन प्रक्रियामा अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ ।

पोखरामा आज आयोजित जिल्लास्तरीय पार्टी कार्यकर्ता भेलामा उहाँले कतिपय मानिसले निर्वाचन सार्न खोजेपनि सबै परिस्थिति हेर्दा अब चुनाव तोकिएको मितिमै हुने स्पष्ट पार्नुभयो ।

संयोजक दाहालले भन्नुभयो,“अझै पनि कतिपय मानिसले चुनाव सार्न खोजेका छन् । सरकार, निर्वाचन आयोग, सुरक्षा निकायको कुरा र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा अब पनि निर्वाचन सर्ने हो की भन्ने  दुविधामा कोही पनि रहनु हुँदैन । कुनै प्रकारको हल्लाको पछि लाग्नु आवश्यक छैन, निर्वाचन प्रक्रियामा अघि बढ्न अपिल गर्दछु ।”

संयोजक दाहालले विसं २०८४ मा हुनुपर्ने निर्वाचन अहिलेनै हुन लागेको र यस निर्वाचनले असहज परिस्थितिमा देशलाई निकास दिने बताउनुभयो । “ जेनजी आन्दोलनपछि देशमा असहज र असाधारण अवस्था पैदा भयो । बाध्यतात्मक अवस्थाामा विसं २०८४ को निर्वाचन अहिले हुन लागेको हो । यस निर्वाचनले असहज परिस्थितिबाट देशलाई निकास दिनेछ । ” दाहालले भन्नुभयो ।

संयोजक दाहालले आफ्नो पार्टीले चुनावका लागि धेरै सहजीकरण गरेरको र  यहाँसम्म आइपुग्दा सबै राजनीतिक दल, नागरिक समाज र आम जनता पनि चुनावका लागि तयार भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“असहज परिस्थितिको निकास जनतामा गएर मात्र हुन सक्छ, जनतालई अपिल गरेर मात्र हुन सक्छ भनेर हामीले सुरुदेखी अडान लिएका थियौँ । अहिले सबै जना चुनावी प्रक्रियामा सामेल हुनुभएको छ । ”

संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग समिकरण र तालमेल नगर्ने स्पष्ट पार्नुयो । विसं २०६४ को संविधानसभा चुनावपछि पहिलोपटक नेकपाले देशका एक सय ६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको र पार्टीप्रति विस्तारै लहर बढेको उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्न समेत निर्देशन दिनुभयो ।

“अन्तिम अवस्थामा पार्टीले छोड्छ होला, कसैसँग तालमेल गर्छ भन्ने दुविधा अरुले सिर्जना गर्न खोजेका छन् । अहिलेको निर्वाचनमा कुनै समिकरण र तालमेल गर्ने वाला छैनौँ, आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको भरमा टेष्ट हुन चाहन्छौँ ।” दाहालले भन्नुभयो ।

Comments
Loading...