पोखराको ला ग्रान्डी इन्टरनेशनल कलेजमा ‘ला ग्रान्डी रक फेस्ट’ हुँदै

हिमाली आवाज । पोखराको सिमलचौरमा अवस्थित ला ग्रान्डी इन्टरनेशनल कलेजमा ला ग्रान्डी रक फेस्ट हुने भएको छ । संगीत, सिर्जनशीलता र युवाशक्तिको उत्सवका रूपमा यही फागुन ९ गते फेस्ट हुन लागेको हो ।

यस कार्यक्रमले विविध संस्कृति, प्रतिभा र मनोरञ्जनलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको कार्यक्रम संयोजक सफल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कलेजले विगतमा सफलतापूर्वक सञ्चालन गरेका मनसुन फेस्ट, फुड एक्जिबिसन तथा एक्स्पोहरूबाट प्राप्त अनुभवलाई निरन्तरता दिँदै यस पटक अझ ठूलो स्तरमा रक फेस्ट गर्न लागिएको हो।

“कार्यक्रमले युवाहरूको प्रतिभा प्रस्फुटन, कलात्मक स्वतन्त्रता तथा सामुदायिक एकतालाई मजबुत बनाउने विश्वास छ । ” कार्यक्रम संयोजक भण्डारीले भन्नुभयो ।

फेस्टको मुख्य आकर्षणका रूपमा लोकप्रिय कलाकार तथा ब्यान्डहरूको लाइभ प्रस्तुति रहनेछ । विशेषगरी वेभ ब्यान्डको दमदार प्रस्तुति दर्शकका लागि प्रमुख आकर्षणका रुपमा रहने सह कार्यक्रम संयोजक प्रभास घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूको गायन, नृत्य तथा अन्य रचनात्मक कला प्रदर्शनका लागि विशेष अवसर प्रदान गरिनेछ। सांस्कृतिक विविधतालाई झल्काउने प्रस्तुतिहरू, कला तथा खानाको अनुभव, र स्थानीय उद्यमी तथा हस्तकलालाई प्रवद्र्धन गर्ने मार्केटप्लेस पनि आकर्षणको रुपमा रहने घिमिरेले बताउनुभयो ।

फेस्टमार्फत मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि दिइएको र कार्यक्रमपश्चात् सामुदायिक सहयोगका लागि च्यारिटी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको घिमिरेले जानकारी दिनुभयो ।

आयोजकका अनुसार कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी, अभिभावक, युवा, संगीतप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। टिकट तथा थप जानकारी चाँडै सार्वजनिक गरिने जनाइएको छ ।

Comments
Loading...