हिमाली आवाज । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङदी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज भएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको खेल २–१ गोल अन्तरले जित्दै मनाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
एपिएफले पहिलो हाफमा बनाएको एक गोलको अग्रता बनाएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो । एपिएफले खेलको ११ औँ मिनेटमा युवराज राईको गोलबाट खेलमा अग्रता लिएको थियो ।
दोस्रो हाफमा मनाङ लयमा फर्कियो । खेलको ५७ औँ मिनेटमा रोनिश राजभाकले गोल गरेर खेल बराबरीमा ल्याउनुभयो । यसैगरी खेलको ७७ औँ मिनेटमा सुरेश कुमालले निर्णायक गोल गरेपछि खेलको नतिजा मनाङले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगितामा शुक्रबार फ्रेन्डस् क्लब र प्लानिङ ब्वाइज युनाइटेडकाबीच खेल हुनेछ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार र उपविजेता टोलीले रु सात लाख एक हजार नगद र ट्रफी पुरस्कार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको हो ।
गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।


