हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. १४ अन्तर्गत विभिन्न टोलमा क्षेत्र नं. १ का उम्मेदवार राजकाजी गुरुङको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
समावेशी टोल हुँदै विकास टोल, रातो डाँडा विकास टोल, शिवमार्ग जनसक्रिय टोल, खाल्टे मसिना टोल, हमेली मार्ग, काजिपोखरी, शान्ति टोल, तल्लो–माथिल्लो छिने डाँडा, सुर्यदय नागमणि लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो।
विकास टोलका अध्यक्ष राजेन्द्र प्रसाद वाग्लेले गुठी सम्बन्धी समस्या समाधानका लागि पहल गरिदिन उम्मेदवारसँग अनुरोध गर्नुभएको थियो।
घरदैलो कार्यक्रममा प्रदेश अध्यक्ष गायत्री गुरुङ ले राजकाजी गुरुङ विकास गर्न सक्ने सक्षम नेता भएकाले मत दिएर विजयी गराउन आग्रह गर्नुभयो। त्यसैगरी पूर्ण लामा ले संविधान निर्माणमा अनुभव प्राप्त नेता भएकाले उहाँलाई विजयी गराउनुपर्ने धारणा राख्नुभयो।
पूर्व माननीय दिपक कोइराला ले व्यवस्था परिवर्तनका लागि जनयुद्ध लडेर आएका नेता राजकाजी गुरुङलाई अवस्था परिवर्तनका लागि जिताउनुपर्नेमा जोड दिनुभयो। केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बराल ले माहोल नेपाली कम्युनिस्ट पार्टीको पक्षमा रहेकाले क्षेत्र नं. १ मा राजकाजी गुरुङको जित सुनिश्चित भएको दाबी गर्नुभयो।
घरदैलो कार्यक्रममा उम्मेदवार गुरुङले मतदाताका सुझावलाई आत्मसात गर्दै जनताको रोजगारी, सेवा प्रवाह (डेलिभरी) सुदृढ गर्ने, जनपक्षीय नीति निर्माण गर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


