हिमाली आवाज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागअन्तर्गत गोरखा दरबार संग्रहालयमा कलात्मक कार्यालय बोर्ड राखिएको छ ।
बुधबार नागरिक समाज कास्कीको पहलमा काठको कलात्मक बोर्ड राखिएको हो । यसअघि, टिनसहित फ्लेसको तुलनामा अहिलेको बोर्डले पुरातात्विक एवं ऐतिहासिक संग्रहालयको महत्व झन् बढेको छ ।
बोर्ड हस्तान्तरणका लागि नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलको नेतृत्वमा बुधबार एक टोली गोरखा सदरमुकाम पुगेको थियो । टोलीले संग्रहालयका नासु हरि सारू मगरलाई बोर्ड हस्तान्तरण गरेको हो ।
नागरिक समाज कास्कीको यो सह्रानीय कार्यको प्रशंसा गर्दै सारू मगरले संग्रहालय घुम्न आउनेहरू प्रवेशद्वारमै कलात्मक बोर्डले थप आकर्षित हुने अपेक्षा गर्नुभयो ।
नागरिक समाज कास्कीका संस्थापक संयोजक एवं वातावरण सफाइ महाअभियानका संयोजक पौडेलले पृथ्वीजयन्ती मनाउने सिलसिलाको तयारीमा संग्रहालय पुगेको बेला त्यहाँ कलात्मक बोर्ड राख्ने अभियानको सुरूवात गरिएको बताउनुभयो । बोर्ड राख्न कुनै पनि सरकारी निकाय वा संघसंस्थाको सहयोग नलिई नागरिक समाजका सदस्यकै सहयोगमा सम्भव भएको नागरिक समाजका प्रवक्ता गोकुलबहादुर कार्कीले जनाउनुभयो ।
कार्यक्रम संयोजकसमेत रहनुभएका संस्थाका पूर्व अध्यक्ष विष्णुहरि अधिकारीले संग्रहालयको कलासँग म्याच खाने बोर्ड स्थापना गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । यो वातावरणमैत्री पनि रहेको उहाँको भनाई छ ।
कार्यक्रममा नागरिक समाजका सहसंयोजक दुर्गाकुमारी शर्मा, सहप्रवक्ता सूर्यनाथ पहारी, सदस्य शोभा श्रेष्ठ, शिवप्रसाद बास्तोलाको उपस्थिति थियो । नागरिक समाजले फोहोर मैला सरसफाइ अभियान, विभिन्न विकृति विसंगतिविरुद्ध आबद्ध बुलन्द तथा सरकार तथा सरोकारवालालाई सचेत गराउँदै आएको संयोजक नरेन्द्र लालचनले बताउनुभयो ।
यो संग्रहालय २०६५ जेठ १९ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।


