हिमाली आवाज । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै जाँदा कास्कीमा चुनावको तयारीका कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ ।
प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन लगायतका निकायहरुले चुनावलाई प्राथमिकतामा राखेर तयारीका कामलाई तीव्रवता दिएका हुन् ।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई हजार एक सय ९० जना कर्मचारी खटाइने भएको छ ।
यसैगरी जिल्लामा मतपत्र सहित ५२ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको र ती सामग्रीहरु छुट्टाएर राखिसकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी कर्मचारी खटनपटन अन्तिम चरणमा पुगेको र तीन वटै क्षेत्रमा खटिने कर्मचारीको नामावली सार्वजनिक गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
“हामीले निर्वाचनको तयारीका कामलाई अन्तिम रुप दिँदैछौँ ।मतपत्र लगायतका सबै सामग्री प्राप्त भएका छन्, मतदानस्थलमा खटिने कर्मचारीको नामावली प्रकाशित गरिएको छ । सोमबारदेखी मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सुरु हुन्छ । ” सूचना अधिकारी न्यौपानेले भन्नुभयो । निर्वाचन कार्यालयले तीन समूहमा गरेर सो तालिम सञ्चालन हुने जनाएको छ ।
निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिका अनुसार पाँच सय भन्दा कम मतदाता भएको मतदान केन्द्रमा ५ जना कर्मचारी रहनेछन् । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् ।
कास्कीमा एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल तीन सय ६५ मतदान केन्द्रमा दुई हजार एक सय ९० कर्मचारी खटिनेछन् ।
यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ ।
निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् ।
जिल्लाका ७२ वटै वडामा फागुन ३ गतेदेखी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
“मत बदर हुन नदिनका लागि जिल्लामा प्रभावकारी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्य फागुन १७ गतेसम्म जारी रहन्छ । विगतका निर्वाचनलाई हेरेर यस पटक मत बदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड दिएका छौँ ।” न्यौपानेले भन्नुभयो ।
जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन । यसैगरी मतदाता संख्या तीन लाख आठ हजार पाँच सय ७२ जना रहेको छ ।


