हिमाली आवाज । कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रदेश निर्वाचन कार्यालयले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताउनुभयो ।
उहाँका अनुससार कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्थापन, कर्मचारी खटनपटनको काम पूरा भएको छ । मतदान अधिकृतकका लागि आइतबारदेखी निर्वाचन सामग्री वितरण सुरु हुनेछ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तीन वटै सुरक्षा अंगलाई प्रभावकारी रुपमा खटाइएको बताउनुभयो । उहाँले सुरक्षाकामा कुनै कमी नहुने स्पष्ट पार्नुभयो ।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनका लागि दुई हजार एक सय ९० जना कर्मचारी खटिएका छन् । कास्कीमा एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल तीन सय ६५ मतदान केन्द्रमा दुई हजार एक सय ९० कर्मचारी खटिनेछन् ।
यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ ।
निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् ।
जिल्लामा विभिन्न १८ राजनीतिक दल तथा स्वतन्त्र ४४ पुरुष र पाँच महिला गरी ४९ जना उम्मेदवार मैदानमा छन् ।
यसैगरी मतदाता संख्या तीन लाख आठ हजार पाँच सय ७२ जना रहेको छ । विसं २०७९ को निर्वाचनमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेका थिए ।



Comments